Logo

चितवन-१ मा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेलाई ह्याट्रिक गर्ने मौका, यस्तो छ चुनावी अंकगणित



काठमाडौं, १२ भाद्र । चितवन क्षेत्र नं १ का निर्वाचित सांसद हुन् सुरेन्द्र पाण्डे । अर्थमन्त्री भइसकेका उनी २०७४ मा एमाले र माओवादीसहितको वामगठबन्धनको साझा उम्मेदवार बनेर सानदार जीत निकाल्न सफल भएका थिए ।

पाण्डेले ५१ हजार ८० मत ल्याउँदा काँग्रेसका राजेन्द्र बुर्लाकोटीले ३५ हजार ३६० मत ल्याएका थिए । २०७० को चुनावमा पनि पाण्डेले नै बुर्लाकोटीलाई ५ हजार मतान्तरले पराजित गरेका थिए । २०६५ सालको चुनावमा उक्त क्षेत्रबाट एमालेका लालमणि चौधरी विजयी भएका थिए ।

पञ्चायतकाल देखि वामपन्थी नेता जागृतप्रसाद भेटवालले चितवन १ बाट चुनाव जित्थे । काँग्रेसकी सावित्री बोगटीले २०५६ को चुनाव जितेको इतिहास छ । विगतको इतिहास हेर्दा चितवन १ कम्युनिस्ट पार्टीको बलियो पकड भएको क्षेत्र देखिन्छ । त्यसमाथि पनि एमाले त्यहाँ मजबुत रहँदै आयो ।

यसपटक चितवन १ मा सुरेन्द्र पाण्डे फेरि उम्मेदवार बन्ने चर्चा छ । उनलाई यसपटक ह्याट्रिक गर्ने कडा चुनौती तेर्सिएको छ ।

स्थानीय चुनावको नतिजालाई केलाउने हो भने चितवन १ मा पर्ने राप्ती, खैरेनी र रत्ननगर नगरपालिका कुनैमा पनि एमालेले प्रमुख जितेन । राप्तीमा नेकपा एस, खैरेनी र रत्ननगरमा काँग्रेसका मेयरका उम्मेदवार विजयी भए ।

तीनवटै नगरपालिकाका मेयरहरुले प्राप्त गरेको मतहरु जोड्दा एमालेको ३८ हजार ४७४, काँग्रेसको ३५ हजार ३४१, नेकपा एसको १२ हजार ५२४ र राप्रपाको ३ हजार ५७६ मत छ । सबै दल एक्ला एक्लै प्रतिष्पर्धा गरेमा एमाले बलियो देखिन्छ । तर, सत्ता गठबन्धनका दल मिलेमा एमालेभन्दा गठबन्धनका उम्मेदवार १० हजार मतले माथि हुने अवस्था देखिन्छ । एमाले र राप्रपा मिलेर चुनाव लडेमा तिव्र प्रतिष्पर्धा हुनसक्छ ।

स्थानीय चुनाव र प्रतिनिधि सभाको चुनावमा फरक हुन सक्छ । राप्तीमा धेरै पानी बगिसकेको छ । यसपटक चितवन १ मा नयाँ उम्मेदवारहरुले पनि प्रतिष्पर्धामा उत्रने घोषणा गरिरहेका छन् । जसले प्रतिष्पर्धालाई कडा बनाउन सक्छ ।



प्रतिक्रिया दिनुहोस्