काठमाडौं, १३ भाद्र । स्थानीय चुनावको मतलाई आधार मानेर नेकपा एमालेले आउँदो आमनिर्वाचनमा जित्ने बढी सम्भावना भएको क्षेत्रमा चितवन क्षेत्र नं २ लाई पनि राखेको छ । उक्त क्षेत्रमा पर्ने इच्छाकामना गाउँपालिका र कालिका नगरपालिका दुवैमा प्रमुख पद जितेको छ ।
भरतपुर महानगरपालिकाको १० वटा वडा चितवन क्षेत्र नं २ मा पर्दछन् । जसमध्ये स्थानीय निर्वाचन २०७९ मा काँग्रेसले ६, एमालेले ३ र नेकपा एसले १ वडामा वडाध्यक्ष जितेका छन् ।
स्थानीय चुनावको इच्छाकामना र कालिकाको प्रमुख पदको मतका अलावा भरतपुरका १० वडाका वडाध्यक्षको कुल मत जोड्दा एमालेको ३६ हजार १४८ मत छ । नेपाली काँग्रेसको १८ हजार ९२, नेकपा एसको ३ हजार ५६९ मत, माओवादीको ३ हजार ६९ र राप्रपाको २ हजार ५८ मत रहेको छ ।
स्थानीय चुनावको मतलाई आधार मान्दा गठबन्धनका सबै दलको मत जोड्दा २५ हजार जति मत पुग्छ । त्यो मत एमालेको भन्दा ११ हजारले कम हुन्छ । यसकारण गठबन्धनलाई चितवन २ मा चुनाव जित्न चुनौती देखिन्छ ।
प्रतिनिधि सभाको निर्वाचन र स्थानीय तहको चुनावको मतलाई समान दृष्टिले हेर्नुमा त्रुटी हुनसक्छ । नारायणीमा धेरै पानी बगिसकेको छ । अर्कोतर्फ, चितवनमा स्वतन्त्र उम्मेदवारहरु पनि खडा भएका छन् । यसले त्यहाँ चुनावी प्रतिष्पर्धा रोचक हुनसक्ने देखिन्छ ।