Logo

पुरुष पनि बस्छन् तीजको व्रत



काठमाडौं, १४ भदौ । संस्कृतिविद् प्राध्यापक डा. माधवप्रसाद भट्टराईले तीज गृहस्थ र दाम्पत्य जीवन सफल बनाउने पर्व भएको बताएका छन् ।
“तीज नेपाली समाजको मौलिक चाड हो । यसको महत्त्व गौरीशंकरसँग जोडिएको छ । तीजमा व्रत बस्दा दाम्पत्य र गृहस्थ जीवन सफल हुने पौराणिक कथा लेखिएका छन् । तीजमा महिला मात्र होइन पुरुष पनि व्रत बस्छन् । काठमाडौंमा पनि व्रत बस्ने कैयौं पुरुष मैले देखेको छु । किनभने दाम्पत्य जीवन बलियो बनाउने जिम्मेवारी दुवैको हो । महिलाहरु धर्मपरायण हुन्छन् । त्यसैले उनीहरु बढीजसो व्रत बस्छन् । सकभर दुवै जना बस्छन्, नत्र एक जना भए पनि बस्छन् । त्यसैले तीजको प्रभाव बढेको छ,” नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै डा. भट्टराईले भने ।
व्रत किन बस्ने त भन्ने पत्रकार धमलाको प्रश्नमा डा. भट्टराईले भने, “कतिपय महिला एकादशीमा व्रत नबसे पनि तिजमा बस्छन् । किनभने प्रत भनेको शरीर शुद्धीकरणका लागि पनि हो ।” तर महिनौंदेखि दर खाने चलन भने विकृति भएको उनको निष्कर्ष छ । डा. भट्टराईले थपे, “महिनौंदेखि दर खाने चलन बिलकुलै विकृति हो । यसले फजुल खर्च बढिरहेको छ । दर भनेको चोखो, राम्रो, मीठो परिकार खाने हो । दारु खाने होइन ।”



प्रतिक्रिया दिनुहोस्

Screenshot