काठमाडौं, भदौ १२ । आउँदो मंसिर ४ गते हुने चुनावका लागि निर्वाचन आयोगले निर्वाचन आचारसंहिता सार्वजनिक गरेको छ । आज सोमवार राजपत्रमा प्रकाशित भएको आचारसंहिता आयोगले निणर्य गरेको दिनदेखि लागू हुनेछ ।
आयोगले केन्द्रमा निर्वाचन आयुक्तको नेतृत्वमा केन्द्रीय आचारसंहिता अनुगमन समिति र हरेक जिल्लामा जिल्ला आचारसंहिता अनुगमन समिति गठन गर्ने जनाएको छ । निर्वाचन आयोगका साथै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, कानुन, गृह र सञ्चार मन्त्रालयका सचिव स्वतः अनुगमन समितिमा रहने व्यवस्था छ ।
आचारसंहितामा राजनीतिक दल, सरकार, सुरक्षा निकाय, चुनावमा खटिने कर्मचारी, सञ्चारमाध्यम र नागरिकले पालना गर्नुपर्ने विषय समेटिएका छन् । खासगरी चुनावको समयमा सरकारी स्रोत, साधनको दुरुपयोग हुन नदिनका लागि आयोगले कडा खालका प्रावधान ल्याएको छ । निर्वाचन आयोगद्वारा जारी आचारसंहिता अनुसार संघ र प्रदेश सरकारका मन्त्रीहरुले आफ्नो दलका लागि चुनाव प्रचार गर्न नपाउने भएका छन् ।
तर, आफू उठेको चुनाव क्षेत्रमा भने उनीहरुले चुनाव प्रचार गर्न पाउने छन् । त्यसरी चुनाव प्रचार गर्दा सरकारी गाडीलगायतका स्रोत साधन प्रयोग गर्न पाइने छैन ।