Logo

रामचन्द्र पौडेल प्रधानमन्त्री बन्ने क्षमता नभएको नेता होइनः जीवन परियार



काठमाडौं, १५ भदौ । नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले आफ्नो पार्टी निर्वाचनमा एक्लै जान पनि सक्षम रहेको बताएका छन् ।
“पार्टीको केन्द्रीय कार्यसमितिले गठबन्धनका दलहरुबीचमा संयुक्त रुपमा निर्वाचनमा जाने निर्णय गरिसकेको छ । तर सहमति हुन सकेन भने एक्लै जानुपर्ने हुन्छ । सहमति भयो भने एक्लै जाने कुरा पनि छैन । तर कांग्रेसले एक्लै जित्न सक्दैन भन्ने कुरा गलत हो । नेपाली कांग्रेस ठूलो र जनताले विश्वास गरेको पार्टी हो । स्थानीय तहको निर्वाचनले पनि त्यो देखाइसकेको छ,” नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता परियारले भने ।
सिट बाँडफाँट जतिसक्दो छिटो टुंग्याउनुपर्ने उनले औंल्याए । परियारले भने, “पाँच दलीय गठबन्धनमा सिट बाँडफाँटको अवस्था के कसो छ भन्ने बारेमा आज बिहान ९ बजे केन्द्रीय कार्यसम्पादन समिति, पूर्व पदाधिकारीसहितको बैठकमा छलफल हुन्छ । त्यसको टुंगो लागेन भने के हुन्छ, भन्ने बारेमा पनि पार्टीमा छलफल होला । विभिन्न राजनीतिक दलहरुबीच छलफल गर्दा समय लाग्नु स्वाभाविकै हो । अब समय निकै कम छ । जतिसक्दो छिटो बाँडफाँट टुंग्याए सहज हुन्छ ।”
वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा दाबी गर्नुभएको छ, के उहाँलाई कांग्रेसले भावी प्रधानमन्त्री घोषणा गरेर जान सक्छ भन्ने पत्रकार धमलाको प्रश्नमा परियारले थपे, “पार्टीले भावी प्रधानमन्त्री तय गरिसकेको छैन । तर पार्टीमा धेरै सक्षम नेता हुनुहुन्छ । रामचन्द्र पौडेलले पनि चाहना राख्नुभएको हो भने पार्टीमा एजेन्डाका रुपमा छलफल गरेर अघि बढ्न सकिन्छ । पार्टीले २०५६ मा त्यो अभ्यास गरेकै हो । तर मलाई इच्छा वा चाहना छ भनेर होइन, मुलुकको आवश्यकता हो र पार्टीले पनि सक्षम व्यक्तिलाई अघि सारेको छ भनेको स्थितिमा जनतामा उत्साह आउन सक्छ । रामचन्द्र पौडेल नेतृत्व क्षमता नभएको व्यक्ति होइन । उहाँको चाहना स्वाभाविक नै हो ।”
साथै कांग्रेस नेता परियारले त्रिभुवन विश्वविद्यालयको नेतृत्व विद्यार्थी, प्राध्यापक र कर्मचारीले उठाएका मुद्दामा गम्भीर नभएकाले तालाबन्दी भएको जिकिर गरे । उनले भने, “शैक्षिक संस्थाको नेतृत्व विद्यार्थीका मागलाई बारेमा किन गम्भीरतापूर्वक लिँदैन ? स्नातकोत्तर तहका विद्यार्थीले किन तालाबन्दी गरेका छन् ? उनीहरुलाई परेको समस्यामा उपकुलपतिले ध्यान नदिएकाले नै आन्दोलन भएको हो ।”



प्रतिक्रिया दिनुहोस्