काठमाडौं, भदौ १५ । एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन जित्दै आएको झापा–५ मा चारवटा पालिका छन्। दमक नगरपालिका र कमल गाउँपालिको पुरै भूभाग ५ नम्बरमा पर्छ। गौरादह नगरपालिकाका वडा १ देखि ८ सम्म र गौरीगन्ज गाउँपालिकाका वडा ३, ४, ५, ६ पनि उक्त क्षेत्रमा पर्छन्।
२०७४ सालको निर्वाचनमा उक्त क्षेत्रमा संघ र प्रदेश दुवैमा एमालेले जितेको थियो। संघतर्फ एमालेका उम्मेदवार ओलीले ५७ हजार १३९ मत ल्याएका थिए। प्रतिस्पर्धी नेपाली कांग्रेसका खगेन्द्र अधिकारीले २८ हजार २९७ मत पाएका थिए। ओलीले अधिकारीलाई २८ हजार ८२४ मतले हराएका थिए।
गत वैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा भने झापा–५ मा एमालेलाई ठुलो धक्का लागेको छ। एमालेको आधार क्षेत्र मानिएको दमकमा मेयर र उपमेयर दुवै पद गुमेको छ। उक्त निर्वाचन क्षेत्रमा पर्ने चार पालिकाका मुख्य पदमध्ये एमालेले दुइटा, कांग्रेसले एउटा र राप्रपाले एउटा जितेको अवस्था छ। पालिका प्रमुखहरूले पाएको मत हिसाब गर्दा भने एमाले अगाडि देखिन्छ।
दमकका १० वडामध्ये सातवटामा एमाले, दुइटामा कांग्रेस र एउटामा राप्रपा विजयी भएका छन्। एमालेका १० वटै वडाध्यक्ष उम्मेदवारले पाएको कुल मत १८ हजार २६१ छ। दोस्रोमा रहेको कांग्रेसले ६ हजार ९८३ मत पाउँदा माओवादीले ४ हजार ६६१ मत र राप्रपाले ३ हजार ५०२ मत ल्याएका छन्।
एमालेविरुद्ध एक भएर चुनाव लडेको गठबन्धनका १० वटै वडाध्यक्षले पाएको मत १५ हजार १४६ छ। वडाध्यक्ष उम्मेदवारहरूले पाएको मत हिसाब गर्दा दमकमा गठबन्धनभन्दा एमाले ३ हजार ११५ मतले अगाडि छ।
कमल गाउँपालिकाका सातमध्ये चारवटा वडा एमालेले जितेको छ। कांग्रेस, माओवादी र नेकपा एकीकृत समाजवादी (नेकपा एस) ले एकएक वडा जितेका छन्। एमालेका सात वडाध्यक्षका उम्मेदवारले पाएको कुल मत ९ हजार ६५३ छ। कांग्रेसले ४ हजार ५८१ मत, माओवादीले २ हजार ८३० मत र नेकपा एसले १ हजार ८६० मत पाएका छन्। गठबन्धनको कुल मत ९ हजार २७१ छ। नागरिक दैनिकबाट