काठमाडौं, १५ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो सक्रियता कायमै राखेकी छिन् । नागरिकता विद्येयकका कारण उनले दलका शीर्ष नेताहरुलाई पार्टीगत हिसाबले बोलाएर पछिल्लो समय निरन्तर छुट्टाछुट्टै छलफल गरिरहेकी छिन् ।
आज भने उनले सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहितका शीर्ष नेताहरुसँग छलफल गर्ने भएकी छिन् ।
माओवादी केन्द्रका एक नेताकाअनुसार राष्ट्रपति भण्डारीले माओवादी नेताहरुलाई अहिले दिउँसो साढे २ बजे शितल निवासमा डाकेकी हुन्। यसअघि उनले कांग्रेस, एमाले र राप्रपाका नेताहरुसँग छलफल गरिसकेकी छिन् ।
उनले नागरिकता विद्येयक पूनर्विचारको लागि संसद्मा फिर्ता पठाएकी थिईन् । तर, सत्तापक्षले उनको प्रस्तावलाई अस्विकार गर्दै प्रतिनिधिसभाबाट जस्तोको त्यस्तै पास गरेर चूनौति दिएको थियो ।
सत्तापक्षको पछिल्लो कदमबाट उनी रुष्ट रहेको पछिल्लो भेटमा सहभागी नेताहरुले बताउने गरेका छन् । कतिपयले भने भण्डारी एमालेको सक्रिय राजनीतिमा फर्किन खोजिरहेको भनेर पनि टिप्पणी गरिरहेका छन् । file photo