Logo

संघीयता र धर्म निरपेक्षतालाई उपलब्धि मान्नेहरुलाई चुनावमा मत नदिन विश्व हिन्दु महासंघको अपिल (भिडिओसहित)



काठमाडौं, १५ भदौ । विश्व हिन्दु महासंघ नेपाल राष्ट्रिय समितिले संघियता र धर्म निरपेक्षतालाई उपलब्धीको रुपमा मान्नेहरुलाई आगामी मंसिरमा हुने चुनावमा मत नदिन अपिल गरेको छ । आज (बुधबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर संघियता र धर्मनिरपेक्षताले मुलुकको हित नहुने भन्दै खारेजीको माग गरेको हो । संघीयताले सिक्किमीकरणको बाटोतिर राष्ट्रलाई धकेल्ने महासंघको ठहर छ ।

गत भदौ ४ र ५ गते पोखरामा महासंघ सभापति डा. रामचन्द्र अधिकारीको सभापतित्वमा बसेको केन्द्रीय पदाधिकारी, प्रदेश प्रमुखसहितको पुर्ण बैठकले घोषणापत्र पारित गरेको हो ।

नेपाललाई संसारको गुरु राष्ट्रका रुपमा परिचित गराउने र हिन्दुराष्ट्रको रुपमा पुनस्र्थापित गर्ने महासंकल्पका साथ पुर्ण बैठक सम्पन्न भएको महासंघले जनाएको छ ।

सर्वधर्म समन्वयकारी उदारप्रकृतिको धार्मिक स्वतन्त्रता सहितको हिन्दुराष्ट्र चाहेको भन्दै महासंघले सबै धर्म र सम्प्रदायको अस्तित्व र सम्मानको रक्षा हिन्दुराष्ट्रले मात्रै गर्ने पनि उल्लेख गरेको छ ।

नेपालमा हिन्दुराष्ट्रका विषयलाई साँघुरो दायरामा राखेर व्याख्या गरेको टिप्पणी गर्दै हिन्दुधर्म मात्र नभएर सनातन जीवनशैली भएको समेत घोषणापत्रमा उल्लेख गरिएको छ ।

देशमा १९९७ सालदेखि २०६३ सालसम्म पटक–पटक आन्दोलनबाट शासन सत्तामा उथलपुथल आएपनि उनीहरुको अहंकारी मनोवृत्ति परिवर्तन नभएको महासंघको भनाइ छ ।

अहिले जनतामा व्यापक असन्तुष्टि भएको भन्दै महासंघले विकल्पको खोजीमा जनता तड्पिरहेको समेत उल्लेख गरेको छ । महासंघले जनताका असन्तुष्टि सम्बोधनसहितको सही निकास दिनेसमेत बताएको छ ।

महासंघकाअनुसार भगवान महादेवले लिएको १०८ अवतारमध्ये पहिलो गोरखनाथ अवतार हो र गोरखनाथलाई नेपालले राष्ट्रदेव तथा आध्यात्मिक गुरुको रुपमा मानिएको छ ।

कार्यक्रममा बोल्दै कार्यकारी सभापति डा.रामचन्द्र अधिकारीले राजनीतिक दलमाजस्तो धार्मिक संस्थाहरुका बिचको एकता भङ्ग नहुने दाबी गरेका छन् । हिन्दु ऊँकार परिवारको एकता कहिल्यै भङ्ग नुहने पनि उनले स्पष्ट पारे ।

उनले गत भदौ ४ र ५ गते सम्पन्न बैठकले धर्मगुरु चिन्तामणिनाथ योगीको टोलीमा सहभागी व्यासाचार्य किशोरकुमार गौतम, पुष्पराज पुरुष लगायतको नेतृत्वमा ॐकार एकता महाअभियानलाई निरन्तरता दिने निर्णय गरेकोसमेत जानकारी दिए । उनले प्रेश विज्ञप्ती वाचन गरेर सुनाएका थिए ।

विश्व हिन्दु महासंघ नेपालका उपाध्यक्ष प्रविण घिमिरेले पछिल्लो समय तीजको दर खाने कार्यमा समेत विकृति देखिएको टिप्पणी गरेका छन् । उनले भने,‘जसको नामै उच्चारण गर्न गाह्रो हुने पदार्थ प्रयोग गरेर महिनौंदेखि दर खाने कार्यक्रम सुरु भएको छ, यो विकृति हो । यो छाडापन हो ।’ घिमिरेले कार्यक्रममा स्वागतमन्तव्य राखेका थिए ।

यसैगरी, काठमाडौं जिल्ला कार्यसमितिकी सभापति रेखा अर्यालले अहिले मातृ धर्मनै संकटमा परिरहेको टिप्पणी गरिन् । हिन्दुधर्म संस्कार, संस्कृतिमा धेरै नै विकृति तथा विसंगती आएको उनको भनाइ थियो । देश संकटमा परेको भन्दै विश्व हिन्दु सनातन धर्मले नै राष्ट्रको संरक्षण गर्ने उनको भनाई थियो ।

विश्व हिन्दु महासंघ, कर्णाली प्रदेश संयोजक ऋषिकेशजंग शाहले देशले अहिले अंगालेको राजनीतिक प्रणालीमा गुट हाबी भएको टिप्पणी गरेका छन् । उनले भने,‘हामीले राजनीतिक दल, दलबाट गुट, गुटबाट एउटा व्यक्तिको कारिन्दामा पुग्ने प्रणाली अंगालेका छौं ।’ विश्वका मानिसहरुमा एकताको कमी भएको भन्दै उनले संसारलाई एकता बनाउन सबैभन्दा पहिला नेपाली एक हुनुपर्ने धारणा व्यक्त गरे ।

नेपालमा राष्ट्रिय एकताको आवश्यकता रहेको उनको भनाइ थियो । सबैलाई एक बनाउने माध्यमनै धर्म भएको जिकिर गर्दै शाहले धर्ममा सबै गुट, पार्टी, दल र व्यक्ति पनि अट्ने बताए । धर्ममा टेक्न सके राष्ट्रिय एकता कायम रहने भन्दै उनले एकता भएमा विश्वबन्धुत्वको बाटोमा जाने र विश्वमा शान्ति हुने बताए । कार्यक्रममा मातृशक्तिकी प्रमुख प्रा.उमा पाण्डे, धार्मिक अभियन्ता पुष्पराज पुरुषलगायतले आफ्नो धारणा राखेका थिए ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot