काठमाडौं, १६ भदौ । गाउँसुधार तथा कृषकहित संरक्षण मञ्च नेपालले देशको अर्थतन्त्रको मेरुदण्ड कृषि भएपनि राज्य उक्त क्षेत्रबारे व्यवहारिक र जिम्मेवार हुन नसकेको आरोप लगाएको छ । अध्यक्ष दुर्गाप्रसाद खनालले कृषिले नै नेपाली जनताको उन्नती र प्रगतीको ढोका खुल्नेबारे राज्यले सैद्धान्तिक तरिकाले स्वीकारे पनि व्यवहारिक रुपमा अन्यन्तै ढिलासुस्ती गरेको आरोप लगाएका छन्।
आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गर्दै खनालले नेपालका ६५.६ प्रतिशत जनसंख्या कृषिमा आधारित रहेको उल्लेख गरे । कृषिमा आधारित रहने ठुलो हिस्सा अन्यौल र अस्तव्यस्त परिस्थितिमा गुज्रिरहेको उनको भनाइ थियो । ‘विकास र परिवर्तनका लागि स्थानीयस्तरबाटै पहल गरौं, जय किसान जय देश’ नारासहित मञ्च २०६९ सालदेखि सक्रिय रहेको छ ।
कार्यक्रममा रिपोर्टर्स क्लब नेपालका सभापति एवम् प्राइम टाइम्स टेलिभिजनका अध्यक्ष ऋषि धमलाले देश कृषिप्रधान भएपनि किसानहरु दिनानुदिन भोगिरहने समस्याका कारण रोइरहेको टिप्पणी गरेका छन्।
किसानहरु रोइरहेको देख्दा आफु भावविह्वल भएको उनको भनाई छ । उनले भने,‘किसानहरुले समयमा मल पाउदैनन्, बिउबिजनको अभाव छ, सिंचाई हँदैन, किसानहरुको अवस्था यस्तो हुनु गम्भिर कुरा हो ।’
राज्य किसानका मागप्रति संवेदनशील हुनुपर्ने उनको भनाई छ । उनले मुलुकमा अब आर्थिक क्रान्तिको आवश्यकत्ता औंल्याउँदै त्यसको लागि कृषिलाई आधुनीकिकरण गर्नुपर्नेमा जोड दिए । उनले भने,‘किसान रोएको देख्दा म मन थाम्न सक्दिनँ, राज्य उहाँहरुको मागप्रति संवेदनशील बन्नुपर्छ ।’