Logo

पाँच दलीय गठबन्धको सरकार बन्ने अवस्था आयो भने देशको भविष्य अन्धकार हुन्छ : शंकर पोखरेल



बैतडी, १७ भदौ। नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले आगामी निर्वाचनलाई एउटा नियमित प्रक्रियाका रुपमामात्र होइन, समाज बदल्ने अभियानका रुपमा लिई एकताबद्ध भई जुट्न पार्टीपङ्तीलाई आग्रह गरेका छन् । जसरी राजनीतिक परिवर्तनका लागि समर्पण गरियो त्यसरी नै देश बदल्ने अभियानका लागि पनि समर्पण आवश्यक रहेको वताउँदै महासचिव पोखरेलले ‘देश बदल्ने भनेको समाज बदल्ने हो, समाज बदल्नका लागि आगामी निर्वाचनमा पार्टीलाई विजयी बनाउन संगठित र एकताबद्ध भई लाग्नुपर्छ भने ।

उनले आगामी निर्वाचनलाई सामान्यरुपमा नलिन स्थानीय नेताकार्यकर्तालाई आग्रह गरे । महासचिव पोखरेलले एक पार्टी सदस्यले नयाँ दुई भोट बृद्धि र पुराना पाँच भोटको संरक्षण गरेको अवस्थामा मङ्सिर ४ पछि एमालेको नेतृत्वमा सरकार बन्ने बताए ।

बैतडीको पाटनमा आज आयोजित कार्यकर्ता प्रशिक्षण भेलालाई सम्बोधन गर्दै महासचिव पोखरेलले मङ्सिरपछि पनि पाँच दलीय गठबन्धको सरकार बन्ने अवस्था आयो भने देशको भविष्य अन्धकार हुने बताए । उनले गठबन्धन सरकारको एक वर्षको कार्यकालमा देश अधोगतितर्फ गइरहेको आर्थिक सूचकाङ्कहरूले देखाइरहेको तथ्य प्रस्तुत गर्दै देशको भविष्यप्रति चिन्ता व्यक्त गरेका हुन् ।

स्थानीय निर्वाचनमा गठबन्धनमा रहेका दलहरूले सत्ताको दुरुपयोग गरी मतदाता प्रभावित गरेको अनुभव सुनाउँदै महासचिव पोखरेलले आगामी निर्वाचनमा मत सुरक्षाका लागि हरेक बुथमा युवा दस्ता तैनाथ गर्नुपर्ने हुँदा तयारी गर्न निर्देशन दिए ।

महासचिव पोखरेलले भने– ‘मत वृद्धि र मत सुरक्षाको योजना सफल बनाई आगामी निर्वाचनपछि एमालेले बहुमतका साथ सरकारको नेतृत्व गर्नुपर्छ ।’
एमालेको सरकार बनेपछि वृद्धभत्ता पाँच हजार पुर्याउने भन्दै उनले एमालेका तत्कालिन अध्यक्ष मनमोहन अधिकारीको पालामा एक सय रुपियाँबाट सुरु भएको बृद्धभत्ता एमालेकै पालामा चार हजार पुगेकोबताए ।

महासचिव पोखरेलले देश बनाउने शक्ति एमाले मात्र भएकाले सबै नेपाली जनतालाई एमालेको झण्डामुनि गोलबद्ध हुन आह्वान गरेका थिए । उनले राष्ट्रवादी शक्ति एमालेका कारण एसपीपी सम्झौता रोकिएको बताए ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot