काठमाडौं, भदौ १८ । विमानस्थलको स्तरवृद्वि गर्ने लक्ष्यअनुसार तराईका तीन विमानस्थलमा अत्याधुनिक टर्मिनल भवन निर्माण हुने भएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणले भरतपुर, विराटनगर र नेपालगञ्ज विमानस्थलमा नयाँ टर्मिनल भवन निर्माण गर्न आवश्यक प्रक्रिया अगाडि बढाएको हो ।
नेपालगञ्जको टर्मिनल भवन बनाउन तीन अर्ब ५० करोड, विराटनगरको तीन अर्ब ५४ करोड र भरतपुर विमानस्थलको टर्मिनल भवन बनाउन एक अर्ब ७५ करोड रुपियाँ लागत अनुमान गरिएको छ ।
प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार करिब नौ अर्ब रुपियाँ लगानीमा निर्माण हुने तीनवटा नयाँ टर्मिनल भवनको काम तीन वर्षभित्र सक्ने गरी योजना प्राधिकरणले बनाएको छ ।
५० वर्षभन्दा पुराना ती विमानस्थलका टर्मिनल भवन साँघुरो, पानी चुहिने, जीर्ण अवस्थामा पुगेकाले सुविधासम्पन्न टर्मिनल भवन बनाउन लागिएको उनले बताए ।
नयाँ टर्मिनल भवन बन्न लागेका विमानस्थलमध्ये विराटनगर र नेपालगञ्जमा हाल रात्रिकालीन उडानसमेत हुँदै आएकाले हवाई उडान र यात्रुको चापका आधारमा उड्डयन सुरक्षा तथा यात्रुको सुविधालाई दृष्टिगत गरी नयाँ टर्मिनल भवन बनाउन लागिएको उनको भनाइ छ ।
उनले भने, “नयाँ टर्मिनल भवनमा कन्भेयर बेल्ट, यात्रु प्रतीक्षालय, कन्फेक्सरी सप, पसल क्लबसहितको खुला र फराकिलो भवन निर्माण हुन लागेको हो ।”
त्यसबाहेक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ४० अर्ब रुपियाँको लागतमा बन्ने नयाँ टर्मिनल भवन निर्माणका लागि नेपाली सेनासँग छलफल भइरहेको प्रवक्ता निरौलाले बताए । गोरखापत्र दैनिकबाट