Logo

सल्लाहकार मण्डलले राष्ट्रपतिलाई फसायोः रामनारायण विडारी



काठमाडौं, १८ भदौ । नेकपा (माओवादी केन्द्र) का नेता एवं वरिष्ठ अधिवक्ता रामनारायण बिडारीले संसद्लाई सन्देशका नाममा निर्देशन पठाएर राष्ट्रपति विद्यादेवी भण्डारी चुकेको बताएका छन् ।
“नागरिकता विधेयकलाई मिडियाले धेरै उचाले । राष्ट्रपतिले एकपटक सन्देशसहित फिर्ता पठाउन पाउने प्रावधान छ । उहाँले सन्देश पठाउन पाउनुहुन्छ, यति घटाऊ, यति बढाऊ, यति संशोधन गर भनेर निर्देशन पठाउन मिल्दैन । उहाँलाई सल्लाहकार मण्डलले फसाएको छ । ती तलब खाने र नखाने सल्लाहकार, दलभित्र र बाहिरका सल्लाहकार बेइमान छन् । अब प्रमाणीकरण गर्नुभएन भने उहाँ संवधौनिक प्रावधान मिच्नेमा दर्ज हुनुहुन्छ,” नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता बिडारीले भने ।
नेपाली जनताले नागरिकताको प्रमाणपत्र पाउने विधेयक अड्काउनु गलत भएको पनि बिडारीले औंल्याए । उनले भने, “नेपाली नागरिकका सन्ताले ३५ वर्ष भयो नागरिकता नपाएको । राष्ट्रपतिले हो कि हो कि भ्रम पारिदिन खोज्नुभयो । यो विधेयकमा त्यस्तो विवादास्पद कुनै कुरा छैन । हामीले राज्यव्यवस्था समितिमा विदेशी बुहारीका लागि सात वर्षको प्रावधान राखौं भन्दा केपी ओली भारत रिसाउँछ भनेर थर्कमान भए । मरिगए मानेनन् ।”
आफ्नो पार्टीको हैसियत नबुझीकन गठबन्धनमा भाग मागेकाले कुरा मिल्न नसकेको पनि उनले औंल्याए । उनले भने, “सबैलाई धेरै सिट चाहिएको छ । आफ्नो पार्टीको हैसियत बुझ्दैनन् कि क्या हो ? कांग्रेसलाई ८० को वरिपरि, माओवादीलाई ५०–६० सिट दिएर बाँकी जसपा, एकीकृत समाजवादी र राजमोले भागबन्डा गरे हुन्छ ।” उनले यसपालि गठबन्धन नटुट्ने पनि स्पष्ट पारे ।



प्रतिक्रिया दिनुहोस्

Screenshot