काठमाडौं, १८ भदौ । स्वतन्त्र राजनीतिक शक्ति नेपाल मोर्चाका सदस्य एवम् सचेत नेपाली पार्टीका प्रवक्ता ओमप्रकाश खरेलले झापा–३ र नौलो जनवादी पार्टीका अध्यक्ष गंगालाल श्रेष्ठले काभ्रेपलाञ्चोक–२ बाट आगामी मंसिर ४ गते हुने निर्वाचनको लागि प्रतिनिधिसभाको लागि उम्मेद्धवारी घोषणा गरेका छन् ।
आज (शनिबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर खरेल र श्रेष्ठले आ–आफ्नो उम्मेद्धवारी घोषणा गरेका हुन् । सो अवसरमा बोल्दै नेपाल सुशासन पार्टीका अध्यक्ष रमेश खरेलले देशले असल र इमानदार व्यक्तिको खोजी गरेको टिप्पणी गरे । उनले भने,‘देशमा सुशासन कायम गर्छु, परिवर्तन ल्याउँछु भनेर आज गंगाजी र ओमजीले यहाँ प्रतिनिधिसभाको लागि उम्मेद्धवारी घोषणा गर्नुभएको छ, यो खुशीको कुरा हो । उहाँहरु दुवै जना असल व्यक्तित्व हो । काभ्रे, मेरो जिल्लापनि हो, काभ्रेको क्षेत्र नम्बर २ बाट गंगाजी उठ्ने घोषणा गर्नुभयो, अर्को सूर्य उदाउने जिल्ला झापा ३ बाट ओमजी उठ्दै हुनुहुन्छ, मेरो उहाँहर दुवैजनालाई हार्दिक शुभकामना छ ।’
आज उम्मेद्धवारी घोषणा गरेका श्रेष्ठ र खरेल दुवैले अरुभन्दा फरक ढंगले काम गर्छु भनेर घोषणा गरेको भन्दै उनले देश र जनताको लागि राम्रो काम गरेर देखाउन शुभकामना समेत दिए । उनले भने,‘उहाँहरुले बेथिती र बिसंगति अन्त्य गर्छु भनिसक्नुभएको छ । उही पूराना राजनीतिमा लागेका पेशाकर्मीजस्तै भूल गर्नुभयो भने जनताले क्षमा दिने छैनन् । माटोमा जान र मनले सेवा गर्नुहोस भन्ने शुभकामना दिन्छु ।’
उनले नेपालका एकजना बरिष्ठ अधिवक्ताले देशमा सुरक्षाको खतरा देखेर अमेरिका जान लागेको भनेको प्रसंग उठाउँदै देशको अवस्था हुनु दुःखदायी कुरा भएको टिप्पणी गरे । उनले भने,‘मसँगको भेटमा उहाँले यो देशमा मेरो सुरक्षा भएन, म अमेरिका जाँदैछु भन्नुभयो, अमेरिका गएपछि सोसल, हेल्थ सेक्युरिटी हुन्छ भन्नुभयो । हामी त यही देशमा स्वास्थ्यलगायतका सुरक्षा दिन कटिबद्ध छौं ।’
उनले सम्पत्ति शुद्धिकरणको रिपोर्टमा नेपाल फेरि ब्ल्याक–स्टेट हुन लागेको विषय पनि उल्लेख गरे । उनले भने,‘यो देशमा सिमित व्यक्तिहरुले नेपाल आमालाई दोहन गरेको छन् । उहाँहरु देशलाई चिथोरिरहनुभएको छ । यो देश फेरि ब्ल्याक स्टेट हुँदैछ । अहिले भएको होईन, विगत ३२ वर्षदेखि नै उहाँहरु कुशासनमा व्याप्त हुनुभयो । त्यसकै कारण यो अवस्था आएको हो । अब यस्ता विकृति तथा विसंगतिको विरुद्धमा उत्रिनुपर्छ । हामी देशको लागि केही गर्छौं भन्नेहरु एकताबद्ध हुनुपर्छ । छिन्नभिन्न नहोऔं । हामी त त्याग गर्न तयार छौं । असल मानिसलाई भोट दिनुपर्छ । असल व्यक्तित्वलाई भोट दिनुपर्छ ।’
उनले आफू उठ्ने चुनाव क्षेत्रमा आफूभन्दा असल कोही उम्मेद्धवार आए आफूपनि भोट दिन तयार रहेको स्पष्ट पारे । उनले भने,‘जुनसुकै पार्टीको होस, असल व्यक्ति आउनुपर्छ । धोका नदिने व्यक्तित्वको खाँचो छ ।’
यस्तै, सचेत नेपाली पार्टीका अध्यक्ष तथा स्वतन्त्र राजनीतिक शक्ति नेपालका निर्वाचन परिचालन समितिका संयोजक पुण्यप्रसाद प्रसाईले पनि आज उम्मेद्धवारी घोषणा गरेका खरेल र श्रेष्ठ दुवैलाई चुनावी सफलताको लागि शुभकामना दिए ।
सम्बोधनको सुरुवातमै प्रसाईले भने,‘७० करोड भनेपछि तपाईँ कसलाई सम्झिनुहुन्छ ?’ पत्रकार सम्मेलनमा उपस्थित् व्यक्तिहरुको जवाफ थियो–‘गोकुल बाँस्कोटा ।’ लगत्तै प्रसाईले थपे–‘हो, त्यही ७० करोड घोटाला गर्नेको क्षेत्रबाट हाम्रो गंगालालजी उठ्दै हुनुहुन्छ । अर्को, सुडान घोटाला काण्डका नायक, तिनका विरुद्ध ओमप्रकाशजीले उम्मेद्धवार दिँदै हुनुहुन्छ ।’
उनले आफूहरुको मुख्य उद्देश्य भनेको गलत मान्छे र नीतिलाई विस्थापन गर्ने रहेको सुनाए । उनले भने,‘हाम्रो मुख्य उद्देश्य भनेको इमानदार व्यक्तिलाई संसद्मा पुर्याउने हो । भ्रष्टाचार र बेथिति निर्मूल होस भन्ने चाहानुहुन्छ भने र बच्चाले निःशुल्क पढ्न पाओस भन्ने चाहनुहुन्छ भने ईमानको राजनीति गर्नेलाई संसद्मा लैजान जरुरी छ ।’
उनले विगत ७० वर्षदेखि देश लुटिएको पनि टिप्पणी गरे । उनले रमेश खरेलको पनि खुलेर प्रशंसा गरेका थिए । खरेलको इमानदारितको बारेमा कसैले पनि अविश्वास गर्न नसक्ने उनको दाबी थियो ।
उनले थपे–‘हामी हरेक व्यक्ति ईमानदार छौं । गंगालालजी त रिक्सा लिएर देशव्यापी हिँड्नुभएको छ । क्रान्तिको विगुल फुक्नुभएको छ। झापामा लड्ने ओमप्रकाशजी पिएचडी स्कलर हो । दर्जनौं पुस्तक लेख्नुभएको छ ।’ सो क्रममा उनले अहिले इमानदार मान्छे खोज्न साह«ै मुश्किल रहेको सुनाए । उनले भने,‘म कसैलाई पनि हत्तपत्त विश्वास गर्दिनँ ।’
कार्यक्रममा काभ्रे–२ बाट उम्मेद्धवारी घोषणा गरेका गंगालाल श्रेष्ठले नेपाल सबै हिसाबले सम्पन्न रहेको भएपनि अहिलेसम्म विकास नहुनु दुःखद् भएको टिप्पणी गरे । उनले अहिले देश संकटको भूमरीमा रहेको सुनाए । उनले देशलाई विदेशीको दासत्वबाट मुक्त गर्नको लागि पनि आफ्नो उम्मेद्वारी रहेको सुनाए ।
यस्तै, कार्यक्रममा झापा–३ बाट उम्मेद्धवारी घोषणा गरेका ओमप्रकाश खरेलले आफूले देश र जनताको हितमा काम गर्ने सुनाए । उनले भाषणाको क्रममा अधिकांश समय कांग्रेस नेता कृष्णप्रसाद सिटौलाको आलोचना गरेका थिए । उनले अब झापाका जनताले सिटौलालाई मत नदिने विश्वास लिए । उनले सिटौलामात्रै नभएर राजेन्द्र लिङ्देनले पनि केही नगरेको आरोप लगाए ।
उनले चुनावको लागि गठबन्धन गर्न लागेको सत्ता गठबन्धनलाई ‘पोलिटिकल प्रोस्टिच्युसन’ को संज्ञा दिए । उनले गठबन्धन गरिरहेका दलहरुबीच सिद्धान्त र विचार नै नमिल्ने बताए । उनले आफूहरुले गठबन्धनको कडा रुपमा विरोध गर्ने पनि बताए ।
कार्यक्रममा सचेत नेपाली पार्टीका सचिवालय सदस्य सुमनकुमार बलामी, स्वतन्त्र राजनीतिक शक्ति नेपालका सदस्य रोमलाल गिरी, सामूहिक अभियान नेपालका संयोजक रविन्द्र श्रेष्ठ, नेपाल आमा पार्टीका केन्द्रीय गोविन्दप्रसाद भेटुवाल, नेपाल नौलो जनवादी पार्टीका उपाध्यक्ष रमेशप्रसाद आचार्यले आज उम्मेद्धवारी घोषणा गरेका खरेल र श्रेष्ठलाई चुनावी सफलताको शुभकामना दिएका थिए । कार्यक्रमको सञ्चालन सुशासन पार्टीका महासचिव गोविन्द गिरीले गरेका थिए ।