Logo

उम्मेदवारको रणनैतिक जिम्मेवारी निर्धारण गर्दै नेकपा माओवादी समाजवादीको केन्द्रीय बैठक सम्पन्न



काठमाडौं, १९ भदौ । कर्णजित् बुढाथोकीनेतृत्वको नेकपा माओवादी समाजवादीले आगामी निर्वाचनका लागि उम्मेदवारको रणनैतिक जिम्मेवारी निर्धारण गरेको छ ।

भदौ १ र २ गते नेपालगञ्जमा सम्पन्न केन्द्रीय समितिको बैठकले निर्वाचित भए वा नभएपनि अनिवार्य जनश्रमदान, जनसेवा, जनसंर्घष र जनसुरक्षासम्बन्धी पाँच वर्षे ठोस योजना बनाएर लागू गर्नुपर्ने निर्णय पारित गरेको हो ।

आज (आइतबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर बैठकबारे जानकारी दिइएको हो । बैठकले अध्यक्ष कर्णजित् बुढाथोकीको संयोजकत्वमा एक सय ५१ सदस्यीय निर्वाचन परिचालन समिति र १९ सदस्यीय मस्यौदा समिति गठन गरेको छ ।

मस्यौदा समितिमा वरिष्ठ नेता तिलक थापा, उपाध्यक्ष रंगनाथ ढकाल, उपाध्यक्ष विनोद उपाध्याय, महासचिवमा नरेश शाही, सचिवहरु मेघबहादुर खत्री, सिंहराज वि.क. र अरुण घिसिङ्लगायत चयन भएका छन् ।

आगामी मंसिरमा हुने चुनावका लागि बैठकले उम्मेदवार छनौटका लागि विभिन्न ११ मापदण्ड निर्धारणसमेत तय गरेको छ । जसमा पार्टीको कार्यदिशा, कार्यनीति, विधान र घोषणापत्रमा प्रतिबद्ध रहेका, माओवादी आन्दोनलमा निरन्तर क्रियाशिल रहेकालगायतका छनौटका मापदण्ड राखिएका छन् ।

पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष कर्णजित बुढााथोकीले देशमा भौतिक विकास मात्र नहुने भन्दै सामाजिक र सास्कृतिक विकासको आवश्यकता रहेको बताएका हुन् । उनले भने,“जुन हर्क र बालेनबाट सम्भव छैन, हाम्रो पार्टीले युवाहरुलाई राजनीतिप्रति आकर्षित गर्न विशेष कार्यक्रमको आयोजना गरिरहेको छ ।”

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई सरकारले प्रतिबन्ध लगाउने समाचारको भत्र्सना गर्दै उनले भने,‘विप्लवको माग सरकारले सम्बोधन गर्नुपर्छ ।’ अध्यक्ष बुढाथोकीले संसदीय व्यवस्थाको विकल्पमा प्रत्यक्ष कार्यकारी राष्ट्रपतीय प्रणाली स्थापित गर्नुपर्नेमा जोड दिए । पार्टीले निर्वाचन प्रणालीमा पूर्ण समानुपातिक प्रणाली अवलम्बन गर्ने निर्णयलाई निरन्तरता दिनेसमेत उनको भनाइ थियो ।
उनले क्रान्तिकारी कम्युनिष्ट पार्टीहरुसँग पार्टी एकता, संयुक्त मोर्चा निर्माणमा पहल गर्ने, एमसीसी विरोधी दल, पार्टी, व्यक्तित्वसँग चुनावी तालमेल र कार्यगत एकता गर्ने समेत बैठकले निर्णय गरेको स्पष्ट पारे ।

केन्द्रीय समितिको बैठकको निर्णय सुनाउदै बुढाथोकीले ‘नेकपा माओवादी समाजवादीको परिकल्पना, समृद्ध र समानतामूलक स्वाधिन वैज्ञानिक समाजवादको स्थापना’, जहाँ पुरुषत्य त्यहाँ महिला, माओावादीलाई बनाउँ पहिला’, ‘वैज्ञानिक समाजवादको आधार महिला पुरुषको समान अधिकार, युवालाई पूर्ण रोजगार’लगायतको नारा समेत तय भएको जनाए ।

फरक प्रसंगमा बोल्दै उनले संसद् भवनमा जनताको बारेमा छलफल नभई आपसी खिचातानीमा सांसदहरुले समय बिताउने गरेको टिप्पण गरे । अहिलेकै नेताहरुलाई जनताले जिताएमा देशको अवस्था श्रीलंकाको जस्तो हुने उनले आशंका व्यक्त गरे । राजनीतिक दलका नेताहरुले अरबौं रुपैयाँ खर्च गरेर पनि चुनाव जित्ने तयारी गरिरहेको उल्लेख गर्दै उनले त्यसको विरुद्धमा आफ्नो पार्टीले जनसंघर्षको तयारी गरेकोसमेत चेतावनी दिए ।

बैठकले उम्मेदवारको रणनैतिक जिम्मेवारीसमेत निर्धारण गरेको जानकारी दिँदै उनले भने,“उम्मेदवार नर्वाचित भए वा नभएपनि अनिवार्य जनश्रमदान, जनसेवा, जनसंर्घष र जनसुरक्षासम्बन्धी पाँच वर्षे ठोस योजना बनाएर लागु गर्नुपर्ने छ ।”

यसैगरी, पार्टीका केन्द्रीय सचिव मेघबहादुर खत्रीले पार्टीको प्रेश विज्ञप्ती वाचन गरेर सुनाएका थिए ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot