काठमाडौं, २० भदौ । नेपाली सेनाका पूर्व उपरथी डा. पूर्णबहादुर सिलवालले नेपाल र भारतबीचको सैन्य सम्बन्ध जति सरकार–सरकार सम्बन्ध मजबुत नदेखिएको बताएका छन् ।
“नेपाल र भारतको सेना–सेनाबीच कुनै समस्या छैन । ऐतिहासिक सम्बन्ध र खुला सिमानाका कारण नेपालमा भारतको सुरक्षा चासो पनि गहिरो र फराकिलो छ । जनस्तरमा जति घनिष्ट सम्बन्ध छ, सरकार–सरकारबीच त्यति देखिँदैन । त्यसकारण दुवै देशबीचको सीमा समस्या हल भएको छैन । अग्निपथमा पनि द्विपक्षीय कुराकानी भएन,” नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै पूर्व उपरथी डा. सिलवालले भने ।
उनले हिजो नेपाल आएका भारतीय सेनाध्यक्ष मनोज पाण्डेलाई मानार्थ प्रधानसेनापति नभएर मानार्थ महारथी दर्ज्यानी दिन लागेको पनि बताए । डा. सिलवालले भने, “भारतीय सेनाध्यक्षको नेपाल भ्रमण २००७ देखि चल्दै आएको परम्परा हो । उताको सेनाध्यक्षले यता आएर मानार्थ महारथी दर्जा प्राप्त गर्ने र यताका सेनापति उता गएर मानार्थ महारथी लिने दर्ज्यानी लिने गरेको यथार्थ हो । तर जनरल पाण्डेले मानार्थ महारथी पद पाउने हो, प्रधान सेनापति होइन ।”
सन् १९५० को सन्धिका कारण यस्तो प्रचलन चलिआएको डा. सिलवालले बताए । उनले भने, “भारतसँग मात्र किन मानार्थ महारथी आदानप्रदान किन ? अरु देशमा किन भएन भन्ने प्रश्न पनि छ । अरु देश र भारतसँगको सैन्य सम्बन्ध फरक हुनुको प्रमुख कारण सन् १९५० को सन्धि नै हो । सेना–सेनाबीचका सम्बन्धको इतिहास हो । यसलाई सैन्य कूटनीतिको पाटो मान्न सकिन्छ । यो नेपाल र भारत दुवैको हितमा छ ।”