Logo

गठबन्धनबाट कोही पनि बाहिरिँदैनः प्रकाश ज्वाला



काठमाडौं, २० भदौ । नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव प्रकाश ज्वालाले चुनावको मुखमा प्रतिनिधिसभाको कार्यकाल लम्ब्याउने गरी विधेयक आउँदा गलत सन्देश गएको बताएका छन् ।
“प्रतिनिधिसभाको कार्यकाल टुंगो लाग्नैपर्थ्यो । निर्वाचित भएको दिन गन्ने कि सपथग्रहण भएको दिनको गन्ने भन्ने अन्यौल थियो । तर चुनावको मुखमा कार्यकाल लम्ब्याउने गरी केही नेपाल ऐन संशोधन विधेयक आउँदा जनतामा गलत सन्देश गयो । र, त्यो विधेयक सामयिक छैन सरकार ब्याक भयो । अब प्रत्यक्षमा उम्मेदवारी दिएको दिन र समानुपातिकमा बन्दसूची बुझाउनेबित्तिकै पदावधि सकिने भयो,” नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता ज्वालाले भने ।
एकीकृत समाजवादी उपमहासचिव ज्वालाले विन विन हुने स्थितिमा मात्र गठबन्धन हुने औंल्याए । उनले भने, “१६५ भित्र दाबी गरेको भए अस्ति नै टुंगिसक्थ्यो । कांग्रेसले बढी माग्यो, माओवादीले बढी माग्यो । सबैले बढी दाबी गर्दा नै नमिलिरहेको हो । अहिले हामी २४ संख्यामा छौं । कांग्रेस ६३ मा छ । विन–विन हुने स्थितिमा पो सिट बाँडफाँट मिल्छ त ।”
अहिले गठबन्धनबाट कोही नबाहिरिने पनि उनले औंल्याए । उनले थपे, “सिटको बाँडफाँटबारे कार्यदलले आज र भोलि प्रस्ताव तयार पार्छ । पर्सि शीर्ष नेताको बैठकमा प्रस्तुत होला । हामी राजनीतिक रुपमा मिलिसिकेका छौं तर प्राविधिक रुपमा समस्या भएको हो । त्यसैले गठबन्धनबाट कोही पनि बाहिरिँदैन ।”
गठबन्धन दलहरुबीच भावी प्रधानमन्त्रीबारे कुनै छलफल नभएको पनि उनले बताए । ज्वालाले थपे, “शीर्ष नेता तहमा भएको भए अर्कै कुरा हो । कार्यदलमा छलफल भएको छैन । प्रधानमन्त्रीको भएपछि राष्ट्रपति, सभामुखमा पनि होला ।” उनले आफू आगामी निर्वाचनमा संघीयतर्फ उम्मेदवार हुने तयारीमा लागेको बताए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot