Logo

भीमदत्त नगरपालिकाद्धारा निशुल्क एम्बुलेन्स सेवा सुरु



काठमाडौं, २० भदौ । भीमदत्त नगरपालिकाले निशुल्क एम्बुलेन्स सेवा दिन सुरु गरेको छ । कुनैपनि गर्भवती–सुत्केरी महिला स्वास्थ्य सेवाबाट बन्चित हुन नपरोस भन्ने उद्देश्यले नगरपालिकाले एम्बुलेन्स सेवा निशुल्क गरिदिएको जनाएको छ ।

कुनैपनि दिदि बहिनिहरुले एम्बुलेन्स,यातायात अभावका कारण ज्यान गुमाउन नपरोस भन्ने उद्देश्यले यो कार्यक्रमको शुरुवात गरिएको नगर उपप्रमुख नीलम लेखक जोशीले बताइन् ।

‘निर्वाचनमा जनतासंग हामीले एम्बुलेन्स अभावका कारण कुनैपनि महिला तथा शिशुले ज्यान गुमाउन नपरोस भन्ने उद्देश्यले गर्भवती महिलाहरुलाई महाकाली प्रादेशिक अस्पताल सम्म ल्याउन लैजान निशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउछौँ भनेर प्रतिवद्धता गरेका थियौँ ।’ नगर उपप्रमुख जोशीले भनिन् ‘आज त्यो प्रतिवद्धता पुरा भइरहेकोे छ ।’ उनले अगाडी भनिन् ‘यसरी नै हामीले जनतासंग गरेका सबै प्रतिवद्धता पुरा गर्छौ ।’

कार्यक्रममा भीमदत्त नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत याम नारायण गौलीले उक्त कार्यक्रम निरन्तर सञ्चालन हुने बताए । ‘नगरपालिकाको निति कार्यक्रम अनुरुप नगर क्षेत्रभित्रका गर्भवती महिलाहरुको स्वास्थ्य सेवामा सहज पहुच पु¥याउन र घरमै प्रसुती गराउने कार्यलाई शुन्यमा पु¥याउन नगरपालिका भित्रका प्रसुती सेवा केन्द्र वा महाकाली प्रादेशिक अस्पताल सम्म ल्याउन लैजान निशुल्क एम्बुलेन्स सेवा आजबाट शुभारम्भ भएको छ ।’ उनले भने ‘यो कार्यक्रम निरन्तर सञ्चालन हुन्छ ।’

यस्तै उनले उक्त सेवाका बारेमा जनतालाई जानकारी दिन विभिन्न सञ्चार माध्यमबाट प्रचारप्रसार गर्नुपर्नेमा समेत जोड दिए । यस्तै भीमदत्त नगरपालिका–१८ का वडाध्यक्ष रविन्द्र देवकोटाले उक्त कार्यक्रमलाई थप प्रभावकारी बनाउन सम्बन्धित संघसंस्थाहरुको समेत सहयोग आवश्यक रहेको बताए ।

भीमदत्त नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख नरेन्द्र राजा जोशीका अनुसार हाल भीमदत्त नगरपालिकासंग एउटा मात्र एम्बुलेन्स भएकोले नगरपालिकाले नेपाल रेडक्रस सोसाइटी,परिवार नियोजन संघ,जिमुवा स्वास्थ्य चौकी र महाकाली प्रादेशिक अस्पतालका एम्बुलेन्स भाडामा लिने गरि सम्झौता भएको छ ।

‘अहिले नगरपालिकासंग एउटा मात्र एम्बुलेन्स छ ।’ उनले भने ‘त्यसैले नगरपालिकाले रेडक्रस,परिवार नियोजन संघ,जिमुवा स्वास्थ्य चौकी र महाकाली अस्पताल संग सम्झौता गरेको छ ।’ उनले अगाडी भने ‘नगरपालिका बाहेकको रेडक्रस,परिवार नियोजन संघ,जिमुवा स्वास्थ्य चौकी र महाकाली अस्पतालको एम्बुलेन्सले नगर क्षेत्रभित्रका गर्भवती तथा सुत्केरी महिलालाई महाकाली अस्पताल सम्म ल्याएर वा अस्पतालबाट घर पु¥याएको भुक्तानी नगरपालिकाले गर्ने गरी सम्झौता भएको छ ।’

उक्त निशुल्क एम्बुलेन्स सेवा शुभारम्भ कार्यक्रम भीमदत्त नगरपालिकाका प्रशासकिय अधिकृत हरि सिंह धामी, १० का वडाध्यक्ष महेश चन्द, ११ का वाडध्यक्ष प्रकाश थापा , ४ का वडाध्यक्ष सुशील भट्ट , ३ का वडाध्यक्ष गगन सिंह धामी, महाकाली अस्पतालका मेसु अर्जुन भट्ट तथा परिवार नियोजन सघं, नेपाल रेडक्रस सोसाइटी कञ्चनपुरका प्रमुख लगाएतको उपस्थिति रहेको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot