Logo

“सरकारले न्यायका निम्ति नागार्जुनतिर धकेल्न लागेको हो ?”



काठमाडौं, २१ भदौ । नागरिक समाजका अगुवा डा. सुन्दरमणि दीक्षितले डेंगी परीक्षणमा सरकारले कोरोनामा जस्तै सहुलियत दिनुपर्ने बताएका छन् । “हिजोआज डेंगी निकै फैलिएको छ । तर कोरोनाजस्तो सर्ने रोग होइन । तर ल्याबहरुले डेंगी परीक्षणका लागि २४ सयसम्म लिइरहेको जनगुनासो छ । यसलाई पनि कोरोनामा जस्तो सहुलियत चाहिन्छ । संविधानमा लेख्ने दिने बेलामा स्वास्थ्य निःशुल्क भन्ने, दिने बेलामा केही पनि नदिने ? नेता उपचार गर्न सिंगापुर जाने, जनतालाई केही नदिने ? सरकार आफ्नाका लागि छ, पार्टीका लागि छ, जनताका लागि छैन,” नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै डा. दीक्षितले भने ।
संसदमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको बयानबाट न्यायको आशा गर्नै नसकिने अवस्था आएको उनले औंल्याए । डा. दीक्षितले भने, “पहिले पहिले न्याय नपाए गोर्खा जानु भन्थे । अहिले कहाँ जाने ? चोलेन्द्रशमशेरको बयान सुन्दा अदालतमा न्यायको खरिदबिक्री हुँदो रहेछ । लोभ प्रलोभनमा काम हुँदो रहेछ । अब जनता कहाँ जाने ? न्याय माग्न हामीलाई नागार्जुनतिर धकेलेर पठाउन खोजेको हो ?”
अर्को प्रसंगमा डा. दीक्षितले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयकमा लालमोहर लगाए देश फिजीकरण हुने औंल्याए । उनले थपे, “गल्ती संसदबाट सुरु भएको छ । नागरिकता पाउनुपर्नेले नपाउने, नपाउनुपर्नेले पाउने ? दुइटा विधेयक किन नबनाएको ? राष्ट्रपतिले संविधानको अन्तिम व्याख्या गर्ने थलो सर्वोच्च अदालतमा पठाउनुपर्छ । अन्यथा १० वर्षपछि नेपालको फिजीकरण हुन्छ ।”
तलब भत्ता खानका लागि आफ्नै कार्यकाल लम्बाउन खोज्ने सांसदहरु लोभीपापी भएको आरोप पनि उनले लगाए । उनले भने, “नोमिनेसन फाइल गरेपछि संसद् स्वतः विघटन हुन्छ । सांसद जनताको सेवक होइन डाँका, लुटेरा भएका छन् ।”



प्रतिक्रिया दिनुहोस्