Logo

महानगरको जेष्ठ नागरिकलाई घरदैलोमा स्वास्थ्य सेवा दिने अभियान सुरु



काठमाडौं, २१ भदौ । काठमाडौं महानगरपालिका जेष्ठ नागरिकलाई घरदैलोमा स्वास्थ्य सेवा दिने अभियान सुरु गरेको छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)को योजना अनुसार महानगरपालिकाभित्रका जेष्ठ नागरिकलाई घरदैलोमा जेष्ठ नागरिक स्वास्थ्य सेवा दिने अभियान सुरु गरेको हो ।

महानगरले ईजी हेल्थ कियरसँगको सहकार्यका घरदैलोमा पुगेर जेष्ठ नागरिकको स्वास्थ्य अवस्था जानकारी लिन थालेको छ । महानगरले वडा नम्बर २९ र ९ बाट जेष्ठ नागरिकलाई घरदैलोमा पुगेर स्वास्थ्य सेवा दिने अभियान थालेको हो । वडा कार्यालयका जनप्रतिनिधि र ईजी हेल्थ केयरका स्वास्थ्य प्रतिनिधि संयुक्त रुपमा जेष्ठ नागरिकको विवरण टिप्न घरदैलोमा पुगेका हुन् ।

काठमाडौं महानगरपालिकाको वडा नम्बर २९ अनामनगरबाट आज घरदैलोमा पुगेर जेष्ठ नागरिकको स्वास्थ्य विवरण लिने अभियान थालिएको हो । वडा नम्बर २९ की वडा सदस्य रेनु श्रेष्ठका अनुसार घरदैलोमा पुगेर ६८ वर्षमाथिका जेष्ठ नागरिकको स्वास्थ्य विवरण लिने काम सुरु गरिएको हो ।

महानगरभित्रका जेष्ठ नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण र उपचार गर्ने उद्देश्यले महानगरले ६८ वर्षमाथिका जेष्ठ नागरिकको स्वास्थ्य विवरण लिन थालेको उनको भनाइ छ ।

महानगरले जेष्ठ नागरिकलाई प्राथमिक स्वास्थ्य सेवा समेत दिने तयारी गरेको महिला सदस्य श्रेष्ठले बताइन् । गम्भीर प्रकृतिको बिरामी भएका जेष्ठ नागरिकलाई एम्बुलेन्समा हालेर अस्पताल लानु अगाडि घरमा आएर ईजी हेल्थ केयरका स्वास्थ्यकर्मीले स्वास्थ्य सेवा दिने उनले जनाइन् । यो अभियान महानगरपालिकाभित्रका ३२ वटै वडामा पुग्ने वडा महिला सदस्य श्रेष्ठले जानकारी दिएकी छन् ।

अहिले वडाका जनप्रतिनिधि र ईजी हेल्थ केयरका स्वास्थ्यकर्मी मिलेर अनामनगरमा जेष्ठ नागरिकको स्वास्थ्य अवस्था र विवरण संकलन गर्ने काम गरिरहेका छन् । विवरण संकलन गर्ने टोलीमा वडाका जनप्रतिनिधिहरू श्रेष्ठ, संगिता पुजारी र ईजी हेल्थ केयरका २ जना स्वास्थ्यकर्मी रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्