Logo

भीमसेनदास प्रधानको दाबी–गठबन्धनमा कांग्रेस ९० सिटभन्दा तल झर्दैन, भावी प्रधानमन्त्री देउवा नै हो (भिडिओसहित)



काठमाडौं, २१ भदौ । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वमन्त्री भीमसेनदास प्रधानले आगामी निर्वाचनको लागि आफ्नो दलले गठबन्धनमा ९० सिटभन्दा तल नलिने स्पष्ट पारेका छन् । आज (मंगलबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता प्रधानले अहिले गठबन्धनभित्र सिटको बाँडफाँड टुँगो नलागेको पनि स्पष्ट पारे । उनले भने,‘हाम्रो गठबन्धन अहिले सिट बाँडफाँडमा निश्कर्षमा पुगेको छैन् । यसबारेमा छलफल जारी छ। कार्यदलका संयोजक कृष्ण सटौलाजी झापा जानुभएको छ । आज फर्किँदै हुनुहुन्छ । उहाँ फर्किएपछि छलफल हुन्छ ।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले आफ्नो दलको बटमलाईन १०० सिट भएको सुनाए । उनले थपे–‘हाम्रो बटमलाईन १०० सिट हो । हाम्रो महामन्त्री गगन थापाले पनि यही अडान राख्नुभएको छ । छलफल गरेर जाँदा सहमतिको लागि ८५ देखि ९० सिट राख्नुपर्छ भन्ने सुन्नमा आएको छ । तर, ८० सिटमा सहमति हुने सम्भावना न्यून देख्छु ।’

उनले अहिलेको पाँच दलीय गठबन्धनको सरकार बाध्यात्मक अवस्थामा बनेको स्मरण गराए । उनले तत्कालिन नेकपाका नेताहरु प्रचण्ड र माधव नेपालले आग्रह गरेर नै आफ्नो सभापति शेरबहादुर देउवाले सरकारको नेतृत्व लिएको सुनाए । उनले भने,‘त्यतिवेला संविधानमाथि प्रहार भएकोले नै हाम्रो पार्टी आन्दोलनमा जानुपर्छ भनेर गएको हो । त्यसकै उपज हो–यो गठबन्धन ।’

उनले अहिलेको चुनावलाई गठबन्धन भर्सेस एमालेको रुपमा पनि चित्रण गरे । उनले भने,‘गठबन्धनले जित्यो भन्यो, गठबन्धनका हिमायती प्रचण्ड, माधव नेपाल र देउवा सबैको जित हुन्छ, अहिलेको चुनाव भनेको त गठबन्धन भर्सेस एमाले नै हो । अहिले चुनावको कुरा गर्दा पहिलो बलियो दल कांग्रेस हो । दास्रो बलियो भनेको एमाले नै हो । गठबन्धनको कुरा गर्दा अब सिट बाँडफाँडमा जु–जुन ठाउँमा जुन दल बलियो छ, त्यही दललाई सिट छोड्नुपर्छ । मुख्यगरि यो चुनावमा कांग्रेस र एमालेबीच नै प्रतिष्पर्धा हुने हो । अहिले फुटको संघारमा परेको एमाले कमजोर देखिएको छ ।’

उनले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १६५ सिटमा बहुमत ल्याउनेगरि सिट बाँडफाँड गर्नुपर्नेमा जोड दिए । उनले भने,‘गठबन्धन हार्यो भने त प्रधानमन्त्रीको महत्वकांक्षा बोक्नेहरुलाई धक्का लाग्छ । गठबन्धन जित्यो भने प्रचण्ड, देउवा र माधव नेपालको शीर पनि ठाडो हुने हो । अहिले सिट बाँडफाँडबारे गठबन्धनमा निर्णय भैसकेको छैन् । सबै वस्तुस्थिति हेरेर जानुपर्छ । नेताहरुले गठबन्धनको बहुमत आउनेगरि एक्सरसाईज गर्नुभएको छ ।’

उनले यो निर्वाचनमा गठबन्धनभित्र कांग्रेसले बढि सिट पाउने भयो भने निर्वाचनपछि गठबन्धनको सरकार बन्ने दाबी गरे । उनले भने,‘कांग्रेसले बढि सिट पाउने अवस्था आयो भने गठबन्धनको सरकार बन्छ । तर, नजित्ने ठाउँमा पनि भाग मात्रै खोजियो भने त, एमालेलाई परास्त गर्न गाह«ो हून्छ । हाम्रो बटमलाईन नै ९० हो । १०० सिट लिने महामन्त्री कसरी ८० मा झर्छ होला त? यो सम्भव छैन् । ठाउँ र पार्टीको जनाधारको अवस्था हेरेर सिट बाँडफाँडमा लाग्नुपर्छ । एकीकृत समाजवादीको कुरा गर्दा काठमाडौंमा जीवनराम बलियो छ । जीवनरामजी त हिजो आन्दोलनमा काम गरेको व्यक्तित्व हो । गठबन्धन हार्यो भने को हार्छ त ? देउवा हार्ने हो, माधव नेपाल र कमरेड प्रचण्ड हार्ने हो । गठबन्धनले कसरी बहुमत ल्याउँछ भन्ने रणनीति बनाउनुपर्छ । यसरी जान सकियो भने भोलिको सरकार गठबन्धनको बन्छ । हामी ८० सिटमा त झर्नै सक्दैनौं । अहिलेको प्रतिष्पर्धा भनेको नै एमाले र कांग्रेसबीच नै हो ।’

उनले विवादमा मुछिएका व्यक्तिहरुलाई पार्टीले चुनावमा उम्मेदवार नबनाउने स्पष्ट पारे । अफ्ताब आलम र विजयकुमार गच्छदारको बारेमा सोधिएको प्रश्नमा उनले यस्तो टिप्पणी गरेका हुन्ु । उनले भने,‘नेपालको निर्वाचन कानूनमा आरोपितलाई उम्मेदवार बनाउन कानूनी अड्चन छ । आफ्नो ठाउँबाट आउन सक्छ । तर, त्यसको असर पार्टीको लागि त अर्को क्षेत्रमा पर्नसक्छ। यो कुरा नेतृत्वले हेक्का राख्नुपर्छ । उहाँहरु उम्मेदवार नबन्दा नै राम्रो हो ।’ नेता प्रधानले महामन्त्री गगन थापा काठमाडौं–४ बाटै चुनाव लड्ने विश्वास व्यक्त गरे । उनले भने,‘उहाँ पपुलर फेस हो, उहाँको नाम धेरै ठाउँबाट सिफारिश भएको होला, यहाँबाट नउठिकन अब अन्त गयो भने, गगन थापा यहाँबाट भाग्यो भन्ने मेसेज जान्छ । चुनावमा हार/जित हुन्छ नि, कांग्रेसका थुप्रै सिनियर लिडरले ०७४ मा हार्नुभयो । गगन थापा त भोलि पार्टीको सभापति बन्ने क्षमता बोकेको व्यक्ति हो ।’

उनले आगामी निर्वाचनपछि पार्टीबाट भावी प्रधानमन्त्री सभापति शेरबहादुर देउवा नै भएको स्पष्ट पारे । उनले भने,‘देउवाजी अहिले दलको नेता हो । पार्टीको सभापति पनि हो । उहाँकै नेतृतवमा चुनाव हुँदैछ । केपी ओली त कति विरामी भयो, भयो । प्रचण्डले पनि आलोपालो पनि त्याग्नुभयो । अहिलेसम्म देउवा अस्पताल भर्ना भएको थाहा छ ? उहाँ स्वस्थ हुनुहुन्छ ।जिन नै राम्रो हो । उहाँको बुवा पनि ९६ वर्ष बाँच्नुभयो । गिरिजाबाबु कति विरामी हुनुभयो, रामचन्द्रजी पनि विरामी हुनुभयो, तर देउवा विरामी भएको सुन्नुभएको छ ? हाम्रो पार्टीमा प्रधानमन्त्रीको लागि देउवाको विकल्प छैन् । आलोपालोमा त्यसपछि प्रचण्ड होला ।’

उनले आफ्नो सभापतिले कहिल्यैपनि नराम्रो काम नगरेको दाबी गरे । उनले भने,‘देउवाले समयमै स्थानीय तहको निर्वाचन गराउनुभयो, अब संघ र प्रदेशको निर्वाचन एकैचरणमा गर्दै हुनुहुन्छ । सिस्टमअनुसार उहाँ नै हो प्रधानमन्त्री हो । पहिलो चरणमा कांग्रेसले सरकारको नेतृत्व गर्छ । हाम्रो गठबन्धनको साझा एजेण्डा भनेको नै सरकारमा जाने हो । संविधान बचाउने हो ।’



प्रतिक्रिया दिनुहोस्