Logo

गठबन्धनमा देउवा–प्रचण्ड सुझबुझपूर्ण तवरले अघि बढे एमाले धेरै तल झर्छ : दिनानाथ शर्मा



काठमाडौं, २१ भदौ । सत्तारूढ दल नेकपा (माओवादी केन्द्र) का सचिव दिनानाथ शर्माले आगामी निर्वाचनपछि पनि अहिलेको गठबन्धन रहने बताएका छन् । आज (मंगलबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने,‘यो गठबन्धन निर्वाचनपछि पनि जान्छ । संविधान र लोकतन्त्रको रक्षाको लागि, सडकमा जाने सन्दर्भमा यो गठबन्धन जुटेको हो । संविधान र राष्ट्रको हितलाई केन्द्रमा राखेर गठबन्धन बनेको हो । गठबन्धन सरकार बन्नु आवश्यकत्ता थियो । नेकपा विभाजन भयो, यो वामपन्थीहरुको लागि दुःखको विषय हो । ओलीले निषेधको राजनीति गर्नुभयो । उहाँले चालेका कदमका कारण राजनीतिक अस्थिरताको स्थिति सिर्जना भयो ।’

शर्माले निर्वाचनको सन्दर्भमा गठबन्धन गर्ने कुरा प्राकृतिक भएको पनि स्पष्ट पारे । उनले वर्तमान सरकारले निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गर्ने विश्वास पनि व्यक्त गरे । उनले गठबन्धनभित्र सिट बाँडफाँडमा छलफल भैरहेको सुनाए । उनले भने,‘सिट बाँडफाँडको विषयमा कांग्रेस जिम्मेवार छ । यसको सभापति शेरबहादुर देउवा बढि जिम्मेवार छन् । गठबन्धनलाई जोगाएर जानुपर्ने पनि हो । देउवाजीले सबैलाई सम्मानजनक रुपमा अघि बढाउनुपर्छ । देशमा व्यवस्था फेरियो, तर अवस्था उस्तै रह्यो । अब अवस्था फेर्नको लागिपनि भोलिसम्मको लागि यो गठबन्धन आवश्यकत्ता छ ।’

उनले गठबन्धनमा राम्रो एकता हुने भयो भने एमाले धेरै तल हुने दाबी गरे । उनले यसको लागि देउवा र प्रचण्डले सुझबुझपूर्ण तवरले गठबन्धनलाई सँगै लिएर जान सके गठबन्धनले जित्ने उनको दाबी थियो । उनले भने,‘गठबन्धनको परिणाम सकारात्मक आएको छ। नेपालमा भविष्य भनेको गठबन्धनको नै हो । भोलिको दिनमा यहाँ कसैको पनि बहुमतको सरकार बन्दैन् । नेपालको निर्वाचन प्रणाली नै मिश्रित छ । यो निर्वाचन प्रणालील्े गठबन्धनको संस्कारको विकास गरेरजानुपर्छ भनेको छ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot