काठमाडौं, २१ भाद्र । राष्ट्रिय प्रजातन्त्र पार्टीले २०७४ को प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्षतर्फ एक सिट मात्र जित्न सकेको थियो । झापा क्षेत्र नं ३ बाट राजेन्द्र लिङ्गदेन राप्रपाबाट सांसद बन्ने एकमात्र भाग्यमानी बनेका थिए । त्यतिबेला राप्रपा अध्यक्ष थिए कमल थापा ।
लिङ्गदेनको एकल जितले उनलाई राप्रपाको अध्यक्ष बन्ने मार्ग समेत प्रशस्त गरेको थियो । उनी अध्यक्ष बन्दा राप्रपा एक भएको थियो । पशुपति शमशेर राणा र डा. प्रकाशचन्द्र लोहनी राप्रपामा फर्किइसकेका थिए । तर, लिङ्गदेनसँग पराजित भएपछि कमल थापाले राप्रपा छाडेका छन् ।
राप्रपाको अध्यक्ष भएपछि लिङ्गदेनसामु प्रतिनिधि सभाको पहिलो चुनावी अग्निपरीक्षा हुँदैछ । उनले अब संसदमा सहभागी नहुने घोषणा गरिसकेका छन् । आउँदो चुनावमा दललाई सशक्त बनाएर फर्कने बताए । तर, संसदमा भनेजस्तो लिङ्गदेनका लागि सजिलो भने छैन ।
२०७४ को प्रतिनिधि सभा चुनावका अलावा २०७९ को स्थानीय चुनाव समेतलाई आधार मान्दा राप्रपासँग एक्लै संसदको चुनाव जित्ने तागत देशका कुनैपनि क्षेत्रमा देखिदैन । त्यसैले राप्रपाले नेकपा एमालेसँग तालमेलको तयारी गरिसकेको छ ।
झापा क्षेत्र नं ३ मा राजेन्द्र लिङ्गदेन बलियो स्थितिमा देखिन्छन् । बाँकेबाट धबलशमशेर राणा, रुपन्देहीबाट दिपक बोहरा, नवलपरासीबाट ध्रुबबहादुर प्रधान, चितवनबाट विक्रमबहादुर पाण्डे राप्रपाले आशा गरेका उम्मेदवारमा पर्छन् । त्यसबाहेक दैलेखको एक क्षेत्र, काठमाडौंको एक क्षेत्रमा पनि राप्रपा बलियो स्थितिमा छ । तर, राप्रपाले चुनावमा बाजी मार्नसक्ने क्षेत्रमा आशा गरिएपनि सुनिश्चित गर्न सक्ने ठाउँ भने होइनन् ।
मकवानपुर क्षेत्र नं १ मा दिपकबहादुर सिंहलाई फेरि चुनावमा उतारिदैछ । हेटौंडा उपमहानगरपालिकाको मेयरमा उनले राम्रो मत ल्याएका थिए । प्रतिनिधि सभा निर्वाचनमा उनले कस्तो मत ल्याउने हुन् ? चासो बनेको छ ।
राप्रपाका उम्मेदवारहरुले चुनावी क्षेत्रमा सक्रियता बढाइरहेका छन् । लिङ्गदेनले केही लोकप्रीय हुने कदम पनि चालेका छन् । यसले राप्रपालाई ऊर्जा दिने विश्वास गरिएको छ । तर, चुनावमा हुने तालमेल भन्दा जालझेलको ठूलो असर पर्ने सम्भावनाहरु देखिएका छन् । लिङ्गदेन चुनावमा कसरी प्रस्तुत होलान् ? आम चासोको विषय बनेको छ ।