Logo

ओलीले एमालेलाई रेस्क्यु गर्न सक्लान्



काठमाडौं, २२ भाद्र । नेपालको इतिहासमा वामपन्थी दलहरुको पहिलोपटक बहुमत प्राप्त भएको चुनावी वर्ष हो २०७४ । नेकपा एमाले, नेकपा माओवादी केन्द्र र जनमोर्चा नेपालले चुनावी तालमेल गरेर प्रतिनिधि सभामा स्पष्ट बहुमत हासिल गर्न सफल भएका थिए । ७ प्रदेशमध्ये मधेश प्रदेशबाहेकका ६ प्रदेशमा पनि वामपन्थीकै बहुमत आएको थियो ।

एमाले र माओवादी एकताबाट नेकपा बन्यो । अध्यक्षका रुपमा केपी शर्मा ओली र प्रचण्ड रहे । ओलीले ३ वर्षभन्दा बढी बहुमतको सरकारका चलाए । तर, ओली र प्रचण्डबीचको विवादले नेकपा फुट्यो । एमाले पनि फुट्यो । माधव नेपालले नेकपा एस गठन गरे ।

अहिले फुटेको एमाले चुनावमा होमिदैछ । उसले २०७४ मा हासिल गरेको सफलता दोहोराउन सक्ला ? चासो बनेको छ ।

एमाले एक्लैले २०७४ मा प्रतिनिधि सभाको प्रत्यक्षतर्फ ८० सिट जितेको थियो । समानुपातिकतर्फ ४१ सिट हासिल गर्न सकेको थियो । माओवादीसँगको चुनावी तालमेलका कारण त्यो सम्भव भएको थियो । माओवादीले पनि ३६ सिट प्रत्यक्षतर्फ जितेको थियो । काँग्रेस त्यतिबेला २३ सिटमा खुम्चिएको थियो ।

यसपटक एमाले र माओवादी अलग भएका छन् । एमाले फुटेको छ । एमालेको फुटबाट बनेको नेकपा एस र अर्को शक्ति माओवादी काँग्रेससहितको चुनावी गठबन्धनमा छन् । यसले एमालेलाई चुनावमा धक्का पर्न सक्ने अड्कलवाजी गरिएका छन् ।

एमालेका लागि कतिपय प्रभावशाली नेताहरुलाई नै चुनाव कठिन छ । अध्यक्ष केपी शर्मा ओली राजेन्द्र लिङ्गदेनसँग तालमेल गरेर चुनावमा ढुक्क हुने रणनीतिमा छन् । ईश्वर पोखरेल, विष्णु पौडेल, सुवास नेम्वाङ्ग जस्ता नेताहरुका लागि पनि चुनाव कठिन देखिएको छ ।

एमालेले सुरक्षित क्षेत्रका रुपमा दुई दर्जन उल्लेख गरेको छ । त्यसबाहेक बाँकी दुई दर्जन प्रतिष्पर्धाबाट जित्न सक्ने भनी छुट्याएको बुझिएको छ ।

बाँकी क्षेत्रहरुमा गठबन्धनसामु एमालेलाई कठिन हुनसक्छ । चुनावमा गठबन्धनसँग मधेश प्रदेश, बागमती र सुदूरपश्चिम एमालेका लागि निकै कठिन हुने देखिन्छ । अन्य प्रदेशमा पनि एमाले एक्लै लड्दा चुनौती रहेकाले उसले विभिन्न साना दलहरुसँग भित्री तालमेल गर्ने सम्भावना देखिएको छ ।

गठबन्धनका पाँच दलसँग एक्लै चुनाव लड्न एमालेलाई सजिलो छैन । यो ओलीका लागि एमालेलाई रेस्क्यू गर्ने चुनौतीपूर्ण घडी पनि बनेको छ । उनी एमालेलाई एक्लो बन्न नदिन राजेन्द्र लिङ्गदेन देखि महन्थ ठाकुरसम्म तालमेलमा जान सक्छन् । अन्य साना दल पनि ओलीको रोजाईमा पर्न सक्छ । तर, ओलीका लागि २०७४ मा सफलता दिलाएको दललाई संकटबाट जोगाउन सजिलो भने छैन ।



प्रतिक्रिया दिनुहोस्