Logo

३२ सिटमा जसपाको दाबी छ, कांग्रेसलाई ८० सिट दिन सकिँदैनः कार्यदल सदस्य



काठमाडौं, २३ भदौ । जनता समाजवादी पार्टी (जसपा) का नेता एवं कार्यदलका सदस्य रामसहायप्रसाद यादवले ३२ सिटमा आफ्नो पार्टीको दाबी रहेको बताएका छन् ।
“अहिले निर्वाचन क्षेत्रस्तरीय छलफल चलिरहेको छ । कुनै पनि क्षेत्रमा सहमति भएको छैन । तर हामी सहमतितर्फ लाने कोसिस गरिरहेका छौं । निर्वाचन क्षेत्रमा दाबी घटाउने हिसाबले आज बिहान कार्यदलको बैठक बसेपछि एउटा खाका आउँछ र हामी शीर्ष नेताहरुलाई प्रतिवेदन बुझाउँछौं,” नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै यादवले भने ।
गठबन्धनभित्र सिटको भागबन्डा असम्भव नभएको पनि उनले औंल्याए । यादवले भने, “सम्मानजनक रुपले सिट बाँडफाँट हुनुपर्छ । ३२ सिटमा जसपाको दाबी छ । कांग्रेसलाई ८० सिट दिने हो भने १६५ ले भ्याउँदैन । त्यसैले कांग्रेस घट्नैपर्छ । हामी सहमति नभएको क्षेत्रमा शीर्ष नेतृत्वलाई जानकारी गराउँछौं । आफ्नै पार्टीमा त मिलाउन गाह्रो छ । गठबन्धनमा नहुने कुरा भएन । तर मुस्किल वा असम्भव छैन ।”
साथै उनले जसपाले कुनै पनि देशविरुद्ध नबोल्ने स्पष्ट पारे । उनले थपे, “हामी चीन र भारतसँग सन्तुलित सम्बन्ध राख्न चाहन्छौं । हामीले कुनै देशको विरुद्ध होइन, आफ्नो हितमा बोल्ने हो ।”



प्रतिक्रिया दिनुहोस्