काठमाडौं, २३ भदौ । “एक्सेल एण्ड इलेभेट” २०७९/८०” नाराकासाथ नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. ले ३ दिने “इम्प्लोयी स्किल इन्हान्समेन्ट ओर्कसप” पोखरामा सम्पन्न गरेको छ ।
कम्पनीमा कार्यरत प्रशासनिक कर्मचारीको दक्षता अभिवृद्धि गर्ने उदेश्यले सम्पन्न गरिएको उक्त कार्यक्रम कम्पनीका अध्यक्ष प्रेमा राज्य लक्ष्मी सिंहको सभापतित्वमा आयोजना गरिएको थियो ।
उक्त सम्मेलनको उद्घाटन गर्दै अध्यक्ष सिंहले दक्ष कर्मचारीहरुबाट नै उत्कृष्ट परिणाम प्राप्त गर्न सकिने भएकोले कम्पनीको कर्मचारीहरुको दक्षता अभिवृद्धिको लागि आवश्यक लगानी गर्दै जाने बताए ।
सम्मेलनमा विभागिय प्रमुख सहित देशै भरीबाट प्रशासनिक कर्मचारीहरु गरी २०० जना भन्दा बढिको सहभागिता रहेको थियो ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले बीमा व्यवसाय प्रतिष्पर्धात्मक हुँदै गैरहेको वर्तमान स्थितीमा आफ्नो दक्षता, मेहनत र आपसी समन्वयबाट कम्पनीको व्यवसायिक लक्ष्य हासील गरी बीमा बजारमा कम्पनीलाई अग्र स्थानमा पु¥याउन मार्केटिङ कर्मचारीहरुको जत्तिकै भुमिका प्रशासनिक कर्मचारीहरुको पनि हुने जानकारी दिए । उनले सबैले आ–आफ्नो जिम्मेवारी वहन गर्दै यस सम्बन्धमा अधिकतम प्रयास गर्न उत्प्रेरणा प्रदान गरे ।
प्रमुख कार्यकारी अधिकृत खत्रीले बीमा समितिवाट कर्मचारी दक्षता अभिबृद्धि कार्यक्रम संचालन गर्नु पर्ने निर्देशन प्राप्त भए अनुसार यो कार्यक्रम संचालन गरिएको र आगामी वर्षहरुमा पनि यस्ता कार्यक्रमहरु नियमित रुपमा संचालन गरिने जानकारी गराए ।
कार्यक्रममा नियमनकारी निकाय बीमा समितिका निर्देशक सुशील देव सुवेदीले नेपालको बीमा क्षेत्रमा संस्थागत सुशासनको अवस्था र यस सम्बन्धमा नियामक निकायवाट भएका विस्तृत प्रयासहरु सम्बन्धमा गहन जानकारी गराएका थिए ।