काठमाडौं, २३ भाद्र । नेपाली काँग्रेसको संस्थापनइतर समूहका नेता डा. शेखर कोइरालाले विद्रोहको विषय उठाउँदै आएका छन् । आफ्नो पक्षधरले ४० प्रतिशत सिट नपाए विद्रोह गर्ने उनको चेतावनी आइरहेको छ ।
शेखर पक्षधर कतिपय नेताले पनि विद्रोहमा जोड दिइरहेको बुझिएको छ । सत्ता गठबन्धनका कारण कतिपय टिकट पाउनबाट वञ्चित हुने देखिएबाट शेखेर पक्षधर नेताहरुले विद्रोहमा जोड दिइरहेका हुन् ।
काँग्रेसले सय सिट दाबी गरिरहेको छ । तर, अधिकतम ८५ सिट पाउने बुझिएको छ । त्यस्तो अवस्थामा शेखर पक्षधरले पाउने भनेको अधिकतम ३० सिट हो । सभापति शेरबहादुर देउवालाई आफ्नै पक्षधर नेतालाई सन्तुष्ट बनाउने चुनौती छ । रामचन्द्र पौडेल, प्रकाशमान सिंह, डा. सशांक कोइराला, विमलेन्द्र निधि र कृष्णप्रसाद सिटौला पक्षधरलाई पनि सन्तुष्ट बनाउनुपर्ने वाध्यता छ । यसकारण देउवालाई समस्या छ ।
शेखर पक्षधरबाट टिकट सुनिश्चित देखिएकाहरुमा डा. शेखर कोइराला, गगन थापा, धनराज गुरुङ्ग, तेजुलाल चौधरी, सञ्जय गौतम, रोमी गौचन, चन्द्र भण्डारी, बद्री पाण्डे, सुनिल शर्मा, अर्जुननरसिंह केसी, राजन केसी छन् ।
टिकटको दाबेदार रहेका प्रतिमा गौतम, डा. मीनेन्द्र रिजाल, देवराज चालिसे, सुवास पोखरेल, हृदयराम थानी, अमृत अर्याल, बलबहादुर केसी, रामकृष्ण यादव, रमेश धमला, भूपेन्द्रजङ्ग शाहीलाई टिकट पाउन मुश्किल छ । अमरेश सिंहको त नाम नै सिफारिश भएको छैन । उनी विकल्पका लागि दौडधूपमा छन् ।
शेखर पक्षधर टिकटका दाबेदार धेरै नेताहरु पेलाईमा पर्न थालिसकेका छन् । यसकारण पनि उक्त खेमाभित्र विद्रोहको दबाब बढ्दै गएको छ ।-File Photo