काठमाडौं, २४ भदौ । नेपाली कांग्रेसका पूर्वउपसभापति गोपालमान श्रेष्ठले आफ्नो पार्टी बीपी कोइरालाको बाटोबाट विचलित नभएको बताएका छन् । “मैले बीपी कोइरालासँग २०१६ सालमा प्रधानमन्त्री भएर पोखरा जाँदा अमृत शेरचनको घरमा भेट गर्न पाएँ । त्यसपछि चाबेलको निवासमा भेटें । वनारसको सारनाथमा पनि भेटें । जनमतसंग्रहसम सँगै हिँड्न पाएँ । नेपाली कांग्रेसले उहाँको विचारलाई छाडेको छैन । कांग्रेस उहाँको पथप्रदर्शनमै अघि बढेको छ,” नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै श्रेष्ठले भने ।
नेपाली कांग्रेस कम्युनिस्टहरुको पोल्टामा गएको भन्दा पनि कम्युनिस्टहरु नेपाली कांग्रेसको पोल्टामा आएको दाबी पनि उनले गरे । श्रेष्ठले थपे, “हिजो रामवरण यादवजीले कुन सन्दर्भमा राम राम भन्नुभयो ? तर कांग्रेस रामनाम भन्ने अवस्थामा पुगेको छैन । रामवरणजी निराश या हतास हुनुपर्ने अवस्था छैन । अहिले पनि हामी कम्युनिस्टको पोल्टामा गएका छैनौं, कम्युनिस्टलाई हाम्रै पोल्टामा ल्याएका छौं ।” उनले १०९औं बीपी जन्मजयन्तीका सन्दर्भमा पार्टीको आन्तरिक एकता सुदृढ गर्नुपर्ने अवस्था रहेको पनि औंल्याए ।
उनले आफू संघीय निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवार बन्न चाहेको पनि बताए । श्रेष्ठले भने, “म जनताको बीचमा भिजेको नेता हुँ । मैले प्रत्यक्षतर्फकै तयारी गरेको छु । दुवै क्षेत्रमा मेरो सिफारिस भएर आएको छ । पार्टी सभापतिले भन्नुपर्यो । पार्टीले जे सल्लाह दिन्छ, म त्यही गर्छु ।” साथै उनले डा. शेखर कोइरालाले सय सिटभन्दा तल गठबन्धन गर्न नहुने नभनेको पनि बताए । श्रेष्ठले थपे, “शेखरजीले पार्टी बैठकमा सय सिटभन्दा कम हुँदैहुन्न भन्नुभएको छैन । सिट आवश्यकताअनुसार दिने हो । कसैलाई गठबन्धनमा जबर्जस्ती राख्ने कुरा हुँदैन । तर हामी बाहिर जाने अवस्थामा पुर्याउँदैनौं ।”