Logo

९० सिट कार्यदलले टुंग्यायो, बाँकी शीर्ष तहले मिलाउँछः रकम चेमजोङ



काठमाडौं, २४ भदौ । जनता समाजवादी पार्टी (जसपा) का नेता एवं कार्यदलका सदस्य रकम चेमजोङले पाँच दलीय सत्ता गठबन्धन भताभुंग नभएको बताएका छन् ।
“धेरै ठाउँमा मिलेको छ, केही बाँकी छन् । मोटामोटी आधाउधिमा सहमति भयो । ९० सिटमा सहमति जुटेको छ । कार्यदलले ६० सिटमा कांग्रेसलाई छाडिदिएको छ, जसपाको ८-१०, माओवादी केन्द्रको १००१२ सिटमा ओभर ल्यापिङ छैन । दोहोरो-तेहेरो दाबी छैन । आज तीन बजे शीर्ष नेताको बैठक बस्ने कुरा छ । बाँकी ७५ सिट शीर्ष नेताहरुले मिलाउने सम्भावना छ । आज तीन बजेसम्म ब्रेक थ्रु होला,” नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै चेमजोङले भने ।
मधेस प्रदेशमा कांग्रेस र जसपाबीचको भागबन्डामा जटिलता भएको पनि उनले बताए । चेमजोङले थपे, “खासगरी मधेस प्रदेशमा जटिलता छ । जसपा र कांग्रेसको आधार क्षेत्र त्यही हो । अहिले हाम्रो पार्टीले १२ सिट जितेको छ । नेपाली कांग्रेसले ६ वटा जितेको छ । हामीलाई पहिले जितेको सिटमात्र लिएर बस भन्नु न्यायपूर्ण होइन । अहिले हामीले ३२ सिटमा दाबी गरेका छौं । कांग्रेसले लचिलो भएर मिलाउने हो भने नमिल्ने कुरा छैन । कुनै बिन्दुमा गएर सहमति होला ।”
जसपाले छाडेपछि लोसपाको ‘इन्ट्री’ हुने कुरा छ नि भन्ने पत्रकार धमलाको प्रश्नमा नेता चेमजोङले भने, “कुरा नमिल्दा त बाहिरिन्छु भन्नैपर्यो नि । बाहिरिने सम्भावना जेमा पनि हुन्छ । तर अहिले लोसपा गठबन्धनभित्र छैन । हामीले छाड्दा इन्ट्री हुन्छ कि बाहिरै रहन्छ कि, त्यो म भन्न सक्दिनँ ।”

 



प्रतिक्रिया दिनुहोस्