काठमाडौं, २४ भाद्र । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीभित्र नेतृत्व विकास भइनसकेको स्पष्ट बताइसकेका छन् । उनले आफू अझै केही वर्ष पार्टी नेतृत्वमा रहने बताएर माओवादी नेतृत्व हाँक्न बढेका नेताहरुलाई साइजमा राखिदिए ।
प्रचण्डले माओवादी महासचिवको दाबेदारहरु जर्नादन शर्मा, वर्षमान पुन, पम्फा भुसाल, शक्ति बस्नेतजस्ता नेताहरुलाई धक्का दिने गरी देव गुरुङ्गलाई महासचिव बनाए । माओवादीको संगठनमा पकड भएकाहरुलाई प्रचण्डले धक्का दिनुलाई नेतृत्वमा बढ्न नदिने रणनीतिका रुपमा लिइएको छ ।
प्रचण्डले माओवादीलाई झण्डै तीन दशक हाँकिसकेका छन् । नेतृत्वको दाबेदार जो आए ती धक्का खाए र गए । मोहन वैद्य किरण, डा. बाबुराम भट्टराई देखि बादल समेत माओवादी छाड्ने अवस्थामा पुगे । विप्लवले पनि माओवादी छाडे । यसरी माओवादीमा प्रचण्डलाई चुनौती दिने कोही टिक्न सकेनन् ।
पछिल्लो समय माओवादी नेतृत्वका लागि वर्षमान पुन र जर्नादन शर्मा आक्रामक रुपमा बढ्न खोजेका छन् । दुवै महासचिवको दाबेदार भएपनि प्रचण्डले उपमहासचिवमा सिमिति पारिदिए । यसबाट सबैभन्दा आक्रोशित छन् जर्नादन शर्मा । उनले प्रचण्डलाई चुनौती दिने गरी बोलिसकेका छन् । पुन बाहिर बोलिरहेका छैनन् ।
इतिहासलाई केलाउन हो भने प्रचण्डलाई पार्टीभित्र चुनौती दिनेहरुलाई टिक्न नै कठिन बनाइएको छ । शर्माको के हुने हो चासो छ । पटक पटक मन्त्री भइसकेका शर्माको संगठनमा पनि पकड छ । यसैले उनमा ऊर्जा बढेको हो । तर, प्रचण्डलाई चुनौती दिन भने उनलाई मुश्किल छ ।