Logo

देउवालाई काँग्रेसभित्र कोही घुर्काउने कोही धम्क्याउने



काठमाडौं, २४ भाद्र । नेपाली काँग्रेसमा सभापति शेरबहादुर देउवाको एकछत्र प्रभाव नै छ । पदाधिकारीमा भारी बहुमत रहेका देउवाको केन्द्रीय कमिटीमा दुई तिहाईभन्दा बढी समर्थक छन् । यसकारण उनलाई पार्टीभित्र कसैले चुनौती दिन सक्ने अवस्था छैन ।

देउवालाई मंसिर ४ को चुनावमा टिकट बाँडफाँडका लागि भेट्ने नेताहरुको दौडधूप चलेको छ । काँग्रेसभित्र धेरै गुट उपगुट रहेकाले देउवालाई मुश्किल भने छ । उनलाई गुट उपगुटका नेताहरुले धम्क्याउने र घुर्काउने क्रम बढेको छ ।

सभापतिमा देउवासँग पराजित केन्द्रीय सदस्य डा. शेखर कोइरालाले निरन्तर विद्रोहको चेतावनी दिइरहेका छन् । गठबन्धनमा काँग्रेसले सय सिट नपाए विद्रोह गर्ने कोइरालाको चेतावनी छ । उनी स्वयंले देउवालाई भेटी ४० प्रतिशत टिकटको सुनिश्चिततामा जोड दिएका छन् । त्यसो नभए कडा कदम चाल्ने समेत भनेका छन् ।

शेखर कोइराला समूहका कतिपय नेताहरुले पार्टी विभाजनसम्मको तयारी गरिरहेका छन् । उनीहरु शेखर कोइरालामार्फत् देउवालाई धम्की दिइरहेका छन् । यसलाई टिकटकका लागि बार्गेनिङ्गका रुपमा लिइएको छ ।

काँग्रेस नेता रामचन्द्र पौडेलले आफूलाई भावी प्रधानमन्त्रीका रुपमा प्रस्तुत गरिरहेका छन् । पौडेलले आफू पक्षधर नेताहरुका लागि पनि टिकटको सुनिश्चिततामा जोड दिइरहेका छन् । पूर्वमहामन्त्री प्रकाशमान सिंह पनि आफूलाई भावी प्रधानमन्त्रीका रुपमा प्रस्तुत गरिरहेका छन् । सिंहले पनि आफूपक्षधरका लागि टिकटको सुनिश्चिततामा जोड दिइरहेका छन् । अर्का पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला देउवाको रणनीतिकार बनेका छन् । उनी पक्षधरका लागि पनि टिकटको सुनिश्चितता गर्न खोजिरहेका छन् ।

पूर्वमहामन्त्री डा. सशांक कोइराला र केन्द्रीय सदस्य सुजाता कोइरालाको पनि आफ्नै माग छ । उनीहरु पनि आफ्नो टिकट सुनिश्चित गर्ने देखि पक्षधरलाई टिकट दिलाउन लागेका छन् । विमलेन्द्र निधि समानुपातिकमा अट्ने भएका छन् । उनले पनि आफू पक्षधरका लागि टिकट सुनिश्चित गर्न खोजेका छन् ।

देउवा पक्षकै गोपालमान श्रेष्ठ, विजयकुमार गच्छेदार, पूर्णबहादुर खड्का, बालकृष्ण खाँण, एनपी साउदलगायतले पनि आफू पक्षधरलाई संरक्षण गर्ने रणनीति बनाएका छन् । तर, टिकटका दाबेदार धेरै हुनु र गठबन्धनमा बाँडफाँड हुनुपर्ने भएकाले समस्या देखिएको छ । पूर्वराष्ट्रपति डा. रामवरण यादवले त काँग्रेसलाई राम राम भन्ने अवस्था आएको टिप्पणी गरेर हलचल ल्याइदिएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot