Logo

प्रचण्डले किन उठाए राष्ट्रपति भण्डारीको राजीनामाको विषय



काठमाडौं, २४ भाद्र । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणिकरण नगरे राजीनामा दिनुपर्ने विकल्प सुझाएका छन् । आज पोखरा विमानस्थलमा पत्रकार भेटघाटमा उनले राष्ट्रपति भण्डारीले विधेयक प्रमाणिकरण नगरे राजीनामा दिनुपर्ने विकल्प रहने बताएका हुन् ।

‘राष्ट्रपतिले विधेयक प्रमाणिकरण नगर्ने सम्भावना पनि छ ,’ प्रचण्डले पत्रकारको प्रश्नमा भने,‘यो विषय अदालत जाने सम्भावना पनि छ, दोस्रो, राजीनामा दिने विकल्प रहन्छ ।’ राष्ट्रपतिलाई पहिलोपटक सदनमा फिर्ता गर्ने संवैधानिक अधिकार रहेको र दोस्रोपटक भने यताउता गर्ने अधिकार नभएको जिकिर गरे ।

आफूले राष्ट्रपति भण्डारीलाई भेट्दा नागरिकता विधेयकलाई राजनीतिक मुद्दा बनाउने चाहना पाएको खुलाए । यो विषय अब अदालत जानसक्ने उनको भनाई थियो ।

राष्ट्रपति विद्यादेवी भण्डारीका सल्लाहकार लालबाबु यादवले बिहिबार रिपोर्टर्स नेपालका लागि कुरा गर्दै नागरिकता विधेयक प्रमाणिकरण नहुने बताएका थिए । बरु राष्ट्रपति महाभियोगको सामना गर्न तयार रहेको उनको भनाई थियो ।



प्रतिक्रिया दिनुहोस्