काठमाडौं, २४ भाद्र । रेशम चौधरी कैलाली क्षेत्र नम्बर १ बाट चुनाव जितेर पनि प्रतिनिधि सभाको कार्यकालभर संसदमा बोल्न नपाएका एकमात्र संसद हुन् । उनीमाथि टीकापुर हत्याको अभियोग रहेकाले जेलमा छन् ।
महन्थ ठाकुर नेतृत्वको तत्कालीन राष्ट्रिय जनता पार्टीबाट चुनाव जितेका चौधरीकी पत्नी रञ्जिता श्रेष्ठ चौधरीले नागरिक उन्मुक्ति पार्टी गठन गरेकी छिन् । उक्त दलले कैलालीबाट २०७९ को स्थानीय चुनावमा केही पालिकाहरु जितेको छ । विशेषगरी कैलाली क्षेत्र नं १ मा बलियो उपस्थिति देखाएको छ ।
कैलाली १ को स्थानीय चुनावको मत परिणामलाई आधार मान्दा नागरिक उन्मुक्ति पार्टी सबैभन्दा बलियो देखिन्छ । उक्त क्षेत्रबाट रेशम चौधरीकी पत्नी रञ्जिता श्रेष्ठ चौधरी उम्मेदवार बन्ने चर्चा छ । त्यहाँ नागरिक उन्मुक्ति पार्टीलाई अन्य दलले पराजित गर्न कठिन देखिन्छ ।
कैलाली १ बाहेककबा बाँकी ४ क्षेत्रमा भने नागरिक उन्मुक्ति त्यति धेरै बलियो देखिदैन । स्थानीय चुनावमा क्षेत्र नं २ मा झण्डै ५ हजार र क्षेत्र नं ३ मा झण्डै साँढे ५ हजार मत देखिन्छ । थारु बाहुल्यको बर्दियामा पनि नागरिक उन्मुक्तिको उपस्थिति देखिन्छ ।
आउँदो चुनावमा रेशम चौधरीको दलले कम्तिमा एक क्षेत्र प्रत्यक्षतर्फ जित्ने सम्भावना देखिन्छ । बाँकी क्षेत्रहरुमा भने कडा चुनौती छ । राष्ट्रिय पार्टी बन्न उक्त दलले ३ प्रतिशत ल्याउनुपर्ने हुन्छ । जुन सजिलो छैन ।-File Photo