Logo

औपचारिकतामै सीमित कांग्रेस अभियान



काठमाडौं, भदौ २५ । मंसिर ४ मा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनलाई केन्द्रित गरेर नेपाली कांग्रेसले भदौ १० गतेदेखि सञ्चालन गरेको १५ दिने अभियान शुक्रबार सम्पन्न भएको छ।

जनतालाई आफ्ना कुरा सुनाउने र जनताका कुरा सुन्ने भन्दै सुरु गरिएको अभियान औपचारिकतामै सीमित बन्न पुगेको छ। नेताहरूको ध्यान जनताको कुरा सुन्नेभन्दा पनि निर्वाचनमा कसरी उम्मेदवार बन्ने भन्नेतिर केन्द्रित हुँदा कांग्रेस अभियान औपचारिकतामै सीमित बन्न पुगेको हो।

पार्टीका कार्यक्रम र अजेन्डा लिएर जनतामाझ जानुपर्ने कांग्रेसका जिल्ला र प्रदेश तहका नेताहरू यसबीचको अधिकांश समय केन्द्रीय कार्यालयको निर्देशनअनुसार प्रदेश र प्रतिनिधिसभामा आआफ्ना जिल्ला र क्षेत्रबाट प्रत्यक्ष र समानुपातिकको नाम सिफारिसमै केन्द्रित बने।

आआफ्ना तहबाट नाम सिफारिस भएपछि जिल्ला तहका धैरैजसो नेताहरू केन्द्रीय नेता मिलाउन काठमाडौंमा सक्रिय छन्। जिल्ला तहका प्रभावशाली नेता राजधानीमै केन्द्रित भएपछि धादिङ कांग्रेससहित कतिपय जिल्ला र क्षेत्रीय समितिले अभियानको समापन कार्यक्रम पनि काठमाडौंमै गरे।

कांग्रेसले स्थानीय तह निर्वाचनमा पार्टीले खटाएका केन्द्रीय प्रतिनिधि धेरैजसो जिल्लामै नपुगेको र गएका पनि सदरमुकामबाटै फर्किएको भन्दै यसपटक कम्तीमा पाँच दिन तोकिएको ठाउँमा बस्नुपर्ने भनेको थियो। केन्द्रीय प्रतिनिधिलाई निर्वाचन क्षेत्रका कार्यक्रममा सहभागी हुनुका साथै गठबन्धनमा रहेका दलहरूबीच जिल्लामा समन्वय र सहकार्यको स्थिति मूल्यांकन गरी सहजीकरण गर्न पनि भनिएको थियो।

जनतामाझ जान सञ्चालित अभियान काठमाडौंमा हुँदा पनि पार्टीका पदाधिकारी र केन्द्रीय प्रतिनिधिहरू प्र्रमुख अतिथि बन्दै आएका छन्। नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्