Logo

जो आत्महत्या प्रयासबाट जोगिए



Reporters Club Nepal Logo

काठमाडौं, भदौ २५ । शान्तुन शर्मा १८ वर्ष पहिला काठमाडौंको नयाँ बानेश्वरमा बस्थे। उनका पिताको इन्जिनियरिङमा पिएचडी गर्न अमेरिकामा जाने निधो भयो। उनी परिवारमा एक्ला सन्तान थिए। पितासँगै आमा र शान्तुन पनि अमेरिका जाने भए। त्यतिबेला शान्तुन ९ वर्षका मात्र थिए।

पितासँगै अमेरिका छिरेपछि त्यहींको स्कुल पढे। स्कुलदेखि नै उनको फुटबलमा रुचि बढ्यो। स्कुलपछि कलेजमा टिमसँग मिलेर फुटबल खेल्न थाले। उनलाई फुटबलमा धेरै क्षमता प्रदर्शन गर्ने रुचि थियो। फुटबल खेल्ने क्रममा उनका खुट्टामा चोट लाग्यो। त्यही चोटका कारण उनी पहिलाजस्तो खेल्न सक्ने स्थितिमा थिएनन्।

एक दिन कलेजले फुटबल टिममा सहभागीहरूको शारीरिक तन्दुरुस्ती परीक्षण गर्‍यो। यसमा उनी फिट भएनन्। फुटबल टिममा पनि समावेश हुन पाएनन्। यो कुराले उनको मनमा धेरै पीडा उत्पन्न भयो। त्यतिबेला शान्तुन २० वर्ष भइसकेका थिए। कलेजमा साइकोलोजीमा अध्ययनरत थिए।

फुटबल टिममा सहभागी हुन नसकेको पीडाले उनी भित्रभित्रै उदास बन्दै गए। पढाइमा पनि एकाग्र हुन सकेनन्। यही क्रममा सन् २०१५ मा नेपाल फर्के। विभिन्न मनोचिकित्सककहाँ पुगे । उपचार गराए तर मनोरोगबाट उनी मुक्ति हुन सकेनन्। त्यसपछि पढाइ पूरा गर्न अमेरिका गए। त्यहाँ पनि उनलाई मनोरोगले छाडेन। धेरै कठिन भएपछि दुई साता अस्पतालमा भर्ना भए। पढाइ पूरा गर्न नसकेपछि कलेजले आराम गर्न भन्दै नेपाल जान सुझायो।

उनी सन् २०१६ अगस्तमा पुनः नेपाल फर्किए। नेपाल आएको भोलिपल्ट आफ्नै घरको चार तलाबाट उनी हामफाले। तल खस्दा बम विस्फोट भएजस्तो आवाज उनको कानमा पर्‍यो। त्यसपछि बहोस भए। हामफालेकाले मेरुदण्ड भाँचिएछ। खुट्टामा चोट लागेछ। उनी नर्भिक अस्पतालको आकस्मिक कक्षमा भर्ना भए। मेरुदण्डको शल्यक्रिया भयो तर उनको तल्लो भाग चल्न सकेन सदाका लागि पक्षाघात भयो।

त्यसपछि परिवारले शान्तुनको मानसिक तथा अन्य उपचार गरे। विस्तारै उनी आफ्ना पीडा सामाजिक सञ्जालमा सेयर गर्न थाले, कविता लेख्न थाले। यही बीचमा उनी आर्ट अफ लिभिङको आध्यात्मिक अनलाइन कक्षामा सहभागी भए। यसपछि उनमा बाँच्ने कला जागृत भयो। आफूले जीवनको विकल्प नदेखेर तथा आफैंलाई नबुझेर विगतमा गरेका भूल मात्र थिए भन्ने बुझे। उनी भन्छन्, ‘डिपे्रसनले सीमित दृष्टिकोण बनाएको थियो, बाहिरी संसार दैख्नै सकेको थिइनँ’, उनले भने।

अहिले उनलाई जीवन भनेको निरन्तर विकास प्रक्रिया हो भन्ने लाग्छ। त्यही प्रक्रियाअनुसार जीवन चलाइरहेका छन्।



प्रतिक्रिया दिनुहोस्