Logo

संयुक्त भूतपूर्व सैनिक एवं प्रहरी कल्याणकारी महासंघ नेपालले भन्यो -नेपाली युवाहरुलाई भारतीय सेनामा भर्ती हुने वातावरण मिलाईयोस



अग्निपथ योजनाले नेपाललाई फाईदै गर्ने दाबी
काठमाडौं, २५ भदौ । संयुक्त भूतपूर्व सैनिक एवं प्रहरी कल्याणकारी महासंघ नेपालले भारतीय सेनाको अग्निपथ योजनाअन्तर्गत नेपाली युवाहरुलाई भर्तिको व्यवस्था चाँडो भन्दा चाँडो मिलाउनुपर्ने माग गरेको छ । महासंघ नेपालका अध्यक्ष कर्नल धनबहादुर थापाले भारतीय सेनाको अग्निपथ योजनामा नेपाली युवाहरुको सहभागिताको बारेमा सरकारले देखाएको मौनताले भारतीय सेनामा जान चाहने धेरै युवाहरुको चाहनालाई कुठाराघात गरेको टिप्पणी गरेका छन् । आज (शनिबार) रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले राज्यले आफ्नो हितमा भएको कुरा किन लागु नगरेको भन्दै गुनासो पोखे । राज्यले लिएको नीतिको कारण नेपाली युवाहरु ठूलो मारमा परेको उनको भनाई छ ।
महासंघ नेपालले सन् १९४७ मा नेपाल, भारत र बेलायत सरकारबीच भएको त्रिपक्षीय सन्धीअनुरुप हालसम्म भारतीय सेनामा रहेको गोरखा सैनिकमाथि कुनै प्रकारको विभेद नरहेको पनि स्पष्ट पारेको छ । यस्तै, महासंघ नेपालले भारतले आफ्नो सेना सुदृढीकरण योजनाअन्तर्गत ल्याएको अग्निपथ योजना कुनै जाति, धर्म, क्षेत्रविशेष या गोरखा भर्तीमा मात्र केन्द्रित नभई सम्पूर्ण देशभरिन नै लागु हुने भारतको सदन र सरकारले पास गरेको राष्टिय योजना भएको जनाएको छ।

महासंघले अग्निपथ भर्ति कार्यक्रमबाट नेपाललाई प्रत्यक्ष या अप्रत्यक्ष रुपमा हुने फाईदाहरुको पनि प्रकाश पारेको छ । उक्त अग्निपथ भर्ति योजनाअन्तर्गत दुई देशबीच रहँदै आएको सौहार्दपुर्ण सम्बन्धलाई अझ सुमधुर एवं प्रगाढ पार्न थप मद्यत पुग्ने कुरामा विश्वस्त रहेको पनि महासंघको भनाई छ ।

महासंघले नेपाली युवाहरु १७, १८ वर्षको उमेरमा भारतको अग्निपथ योजनाअन्तर्गत भर्ती भएकाहरु ४ वर्षपछि अवकाश पाउँदा २१/२२ वर्षको हुने र ती युवाहरुलाई नेपाली सेना तथा प्रहरमिा भर्ती गरी तालिम खर्च र तालिमको समय पनि बचाउन सकिने उल्लेख गरेको छ ।

कार्यक्रममा महासंघ नेपालका कर्नल विजयकुमार राईले जतिसक्दो उक्त भर्तिलाई सुचारु गरिनुपर्ने माग गरे । अहिले भर्ति रोकियो भने १२ देखि १३ हजार नेपाली युवाहरुको भारतीय सेनामा भर्ति हुने सपना अधुरो हुने उनको भनाई । उनले यसरी भर्ति रोक्नु गलत हुने धारणा राखे ।

प्रेस विज्ञप्ती

१. परम्परा देखी ईतिहासका हरेक कालखण्डमा नेपाली युवाहरु भारत र व्रिटिश सेनामा भर्ति भएर मित्र राष्ट्रको सेवा वीर तथा बहादूर नेपाली भनेर विश्वभरी प्रंशशा पाइ रहेको कुरा जग जाहेर छ । यसरी हाम्रा युवाहरुले मित्र राष्ट्रको सेनामा सेवा गरे वापत मासिक रुपमा पाइने तलब भत्ता र अवकाश प्राप्त भई सके पछि पाइने पेन्शनको रकम ले नेपाल राष्ट्रको अर्थतन्त्रमा निकै ठुलो टेवा पुरयाएको तथा आँशिक रुपमा भए पनि सरकारको “बेरोजगारि समस्या” लाई केहि हदसम्म हल गरेको कुरा हामी यहाँ स्मरण गराउन चाहन्छौ । अर्को तर्फ मित्रराष्ट्र भारत सितको प्रगाढ मित्रता अथवा नेपाल–भारत मैत्री सम्वन्धको मूल कडी को रुपमा यीनै भूतपूर्व सैनिकहरु हुन भन्ने विषयमा हामी पुर्ण विश्वस्त छौं ।

२. हालै चर्चाको विषय बनिरहेको भारतिय सेनाको अग्निपथ योजनामा (जुन योजना अनुसार सेनाको तिनै अगं बायुसेना, स्थलसेना र नौसेनामा युवाहरुको चार वर्षको सेवा अवधी) नेपाली युवाहरुको सहभागीताको बारेमा सरकारले देखाएको मौनताले भारतिय सेनामा जान चाहने धेरै युवाहरुको चाहनालाई कुठाराघात गरेको कुरामा दुईमत छैन । सन १९४७ मा नेपाल, भारत र बेलायत सरकार विच भएको त्रिपक्षिय सन्धी अनुरुप हालसम्म भारतिय सेनामा रहेको गोरखा सैनिक माथी कुनै प्रकारको विभेद नरहेको कुरा सर्वविधीतै छ । हालमा भारतले आफ्नो सेना सृद्ढीकरण योजना अन्र्तगत ल्याएको अग्निपथ योजना कुनै जाती, धर्म, क्षेत्रविशेष या गोरखा भर्तिमा मात्र केन्द्रीत नभई अन्ततोगत्वा सम्पुर्ण देश भरीनै लागु हुने भारतको सदन र सरकारले पास गरेको राष्ट्रिय योजना हो ।

३. देशको स्वतन्त्रता, सार्बभौमसत्ता, भौगलिक अखण्डता र स्वाधिनतामा आँच नआउने गरी, बेरोजगार युवाहरुको सर्बोपरि हित तथा जिऊ, धन र स्वतन्त्रताको सिद्धान्तलाई मनन गर्दै यो बिषयलाई नेपाल सरकारको तर्फबाट कुटनैतिक पहल गरि अग्निवीर युवाहरूलाई ४ बर्षे कार्यकाल को अवकास पछि पनि भारतको अर्ध सैनिक बलहरुमा पुनः सेवा गर्न पाउने ग्यारेन्टी को लागि अनुरोध गर्दै दिर्घकालिन समाधान खोज्न यो महासंघ हार्दिक अनुरोध गर्दछ । नेपालले अवलम्बन गरेको असंलग्न परराष्ट्र नीति, नेपालको विशिष्ट भू–राजनैतिक अवस्थिती एवं सामरिक संवेदनशीलतामा प्रतिकुल असर गर्ने गरी कुनै पनि कार्य कोही कसैसँग पनि नगर्ने वस्तुगत यथार्थतामा महासघं सदैव प्रष्ट र सचेत रहेको व्यहोरा सम्पूर्ण जनमानस तथा संचार जगतलाई जानकारी गराईन्छ ।

४. अग्निपथ भर्ति कार्यक्रमबाट नेपाललाई प्रत्यक्ष या अप्रत्यक्ष रुपमा हुने फाईदाहरु –

(क) अग्निपथ भर्ति योजना अन्र्तगत दुई देशबीच रहदै आएको सौहार्दपुण सम्बन्धलाई अझ सुमधुर एंव प्रगाढ पार्न थप मद्यत पुग्ने कुरामा हामी विश्वस्त छौं ।

(ख) भारत सरकारको अग्निपथ योजना अन्र्तगत भर्ती भएर चार वर्ष पछी अवकास पाँउदा भारतीय नागरीक सरह नेपाली युवाहरुले पनी विवेधरहित भैपरी आउने सम्पुर्ण सेवा, सुविधा तथा रहलपहल रकम समान रुपमा बराबर पाउने व्यवस्था गरेको छ ।

(ग) यस योजना अन्र्तगत हरेक युवावर्ग सैन्य तालिम युद्धकला, युद्धनिति तथा कौशलमा निपुण तथा अनुसासीत हुने भएकोले सजिलै स्वदेश तथा कुनै पनी देशको सुरक्षा निकायमा सजिलै रोजगार पाउने कुरामा हामी विस्वस्त छौ ।

(घ) प्रत्यक्ष या अप्रत्यक्ष रुपमा विप्रेषणले देशको अर्थतन्त्रमा टेवा पु–याएको कुरा ध्रुव सत्य हो । यसले अप्रत्यक्ष रुपमा वैदेशिक रोजगारी लाई सुरक्षित र मर्यादित बनाउदै विप्रेषण भित्राउने तथा युवावर्गमा रोजगारी सृजना गर्दै र केही हद सम्म जनजनको आर्थिक अवस्था लाई सृदीढ बनाउने कुरामा दुई मत छैन ।

(ङ) अग्निपथ योजना अन्र्तगत युवा वर्गमा बौद्धिक तथा राष्ट्रिय सुरक्षाका विभिन्न आयामहरुमा खोज र अध्ययन गर्ने बानीको विकास भई राष्ट्रप्रेम तथा राष्ट्रिय सुरक्षा सम्बन्धमा चासो तथा चिन्तन बृद्धी हुँदै जानेछ ।

(च) अग्निपथ भर्ति योजना अन्र्तगत हरेक युवावर्गमा छोटो समयावधीमा देशप्रेम तथा सिमा सुरक्षाको अनुभवको पाठ सिकाईरहदाँ हाम्रो देशको युवा वर्गले पनी आफ्नो देश प्रतिको देशभक्तिको पाठ अनुभूति तथा आत्मसाथ गर्नेछन् ।

(छ) अग्निपथ भर्ति योजना अन्र्तगत हरेक युवावर्ग छोटो समयावधी मै सैन्य तालिम, अनुसासन, देशभक्ति तथा युद्धकला कौशलमा निपुण हुने भएकोले देशमा आवश्यकता अनुसार विदेशी हस्तक्षेप तथा देशको स्वतन्त्रता, भौगलिक अखण्डता र स्वाधिनतामा आँच आउने कार्य भएमा प्रशिक्षण प्राप्त एउटा ठुलो सैन्य जमात देश रक्षाको लागी सधै अग्रपत्तिमा हिमाल झै ठिङ्ग उभीरहनेछ ।

(ज) हाम्रा नेपाली युवाहरु १७, १८ बर्षको उमेरमा भारतको अग्निपथ योजना अन्न्तर्गत भर्ती भएका अग्निबीरहरु ४ बर्ष पछि अबकास पाउदा २१, २२ बर्ष को हुन्छ । ती अग्निबीर युवा हरुलाई नेपाली सेना तथा प्रहरीमा भर्ती गरि तालिम खर्च र तलिमको समय पनि बचाउन सकिन्छ, तसर्थ सम्बन्धित पक्षको ध्यानाकर्षण गराउन चाहान्छौ ।

अन्तमा यो प्रेस बिज्ञप्ती सर्बसाधारण नेपालीहरूको जानकारी को लागि जस्ताको तस्तै प्रकाशित गरिदिनु हुन सबै सन्चार माध्यमहरु लाई तथा नेपाल सरकार को सबै सम्बन्धित निकायले पुनः बिचार गरि यथासिघ्र अग्निपथ योजना अन्तर्गत भर्नाको लागि स्वीकृत प्रदान गरिदिनु हुन विनम्र अनुरोध गर्दछौ

(कर्नल धन बहादुर थापा)
अध्यक्ष

 

 

 

 

 



प्रतिक्रिया दिनुहोस्