Logo

एसिड पीडितको हकहितमा काम गर्ने जलन फाउण्डेशनले प्रथम जलन सचेतना सप्ताहको आयोजना गर्ने



काठमाडौं, २६ भदौ । एसिड आक्रमणमा परेका पीडितहरुको हकहितमा काम गर्दै आएको नेपाल जलन फाउण्डेशनले प्रथम जलन सचेतना सप्ताहको आयोजना गर्ने भएको छ ।

आज (आइतबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै संस्थाले आफ्नो स्थापना दिवसको अवसर पारेर आगामी असोज १ देखि ७ गतेसम्म आयोजना गरिएको सप्ताहव्यापी जलन सचेतना कार्यक्रमबारे जानकारी दिएको हो ।  सचेतना कार्यक्रमको उद्देश्य सर्वसाधारणमा जलनको विहंगम स्थितीबारे जानकारी छर्नु रहेको संस्थाले जनाएको छ ।

संस्थाले असोज १ गते बिहान ८ बजेदेखि १० बजेसम्म भृकुटीमण्डपबाट शुरु गरी बसन्तपुर, हनुमानढोका पुग्ने र सोही स्थानमा कोणसभा गर्ने भएको छ । त्यस्तै, २ गते बिहान २ घण्टा विभिन्न निकाय र संघसस्थासँग द्धारिका होटलमा अन्तरक्रिया र छलफल कार्यक्रमको आयोजना गरेको छ ।

यसैगरी, ३ गते विभिन्न स्थानहरुमा रक्तदान तथा छालादान र सचेतना सम्बन्धि कार्यक्रम राखेको छ। ४ गते एलआरआई स्कुल कलंकीमा वक्तृत्वकला प्रतियोगिता, ५ गते संस्थाले विभिन्न सरोकारवाला निकाय, संघसंस्थाहरुमा अवधारणापत्र बुझाउने कार्यक्रम तय गरेको छ । त्यस्तै, ६ गते प्राथमिक उपचार दिवसको अवसरमा गोष्ठी र अन्तिम दिन ७ गते जलनबाट ज्यान गुमाएकाहरुको सम्झनामा दीप प्रज्वलन गर्ने कार्यक्रम रहेको छ ।

नेपालमा वर्षेनी कम्तीमा ५६ हजार नेपालीले जलनको समस्या झेल्नु परेको र २१ हजार जना भन्दा बढीले ज्यान गुमाउने संस्थाको दाबी छ । यो समस्या नेपालमा मात्रै नभएर सम्पुर्ण निम्न तथा माध्यम आय भएका सबै देशको र विशेष गरी दक्षिण–पुर्व एशियाकै ठुलो समस्याको रुपमा देखिएको छ ।

संस्थाले जलनका बिरामीहरुको उपचार गर्न धेरै ठुलो समुहको आवश्यकता पर्ने उल्लेख गर्दै नर्स, फिजियोथेरापीष्ट, पोषण विशेषज्ञ, मनोविशेषज्ञ र समाजसेवी उपचारमा अभिन्न अंग हुनुपर्ने माग गरेको छ । संस्थाका अध्यक्ष डा.पियुष दाहालले चट्यान लागेर, पोलेर, जलेर, करेन्ट लागेर तथा एसिड जस्ता रसायन पदार्थबाट हुने समस्याहरु जलन भित्र पर्ने बताएका छन् ।

उनले जनलका कारण वर्षेनी ५० हजार भन्दा बढी व्यक्तिहरु घाइते हुने गरेको तथ्यांक सुनाए । उनले भने,“घाइतेहरु मध्ये २ हजार जना बढीले वर्षेनी ज्यान गुमाउँछन् ।” जलन हुनेहरुमा महिला तथा बालबालिकाको संख्या अत्यधिक रहेको उनको भनाइ थियो । उनले त्यसमा पनि न्यनु आय भएका वर्गहरु यस्ता घटनाबाट बढी प्रभावित हुने टिप्पणी गरे । उनले भने,“देशमा जसरी क्षयरोग, एचआइभी एड्स, मलेरियाबाट मृत्यु हुने गर्छ त्यो भन्दा बढी जलेर घाइते हुनेहरु बढी प्रभावित हुने गर्छन् ।

’ रकम अभाव भई न्युन आय भएका व्यक्तिहरुले उपचारमा पनि दुःख पाउने उनले उल्लेख गरे । “अरुले भन्दा तीनीहरुले उपचारको अभाव, दुःख पीडा धेरै भोगेका हुन्छन् ।”, उनले भने । दाहालले विद्युतिय कारणले पनि वर्षेनी धेरैले ज्यान गुमाउने बताए । करेन्ट लागेर केहीको मृत्यु हुने र अंगभंग हुने जस्ता किसिमका समस्या हुने उनले उल्लेख गरे । एसिडले घाइते बनाएको आज मात्र नभएर धेरै पहिला देखिनै भएको जानकारी भएको उल्लेख गर्दै नियन्त्रण गर्न नसकिएको भन्दै उनले गुनासो पोखे ।

संस्थाका महासचिव डा.किरण नकर्मीले प्रेव विज्ञप्ती वाचन गरेर सुनाएका थिए । कार्यक्रमको सञ्चालन बालकृष्ण गैरेले गरेका थिए ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot