Logo

चितवनमा दाहालविरुद्ध कांग्रेसको विद्रोही समूहले उम्मेदवारी दिने



काठमाडौं, भदौ २७ । चितवन कांग्रेसको विद्रोही समूहले आफ्नो पार्टी नेपाली कांग्रसले गठबन्धनका नाममा उम्मेदवार नबनाउने निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने तयारी गरेको छ।

‘कांग्रेस शुद्धीकरण अभियान’ का नाममा एकीकृत विद्रोही समूहले आइतबार भरतपुरमा आयोजित पत्रकार सम्मेलनमा गठबन्धनका नाममा पार्टीले उम्मेदवार नउठाए आफ्नो पक्षबाट उम्मेदवारी रहने जानकारी गराएको हो।

यो समूह स्थानीय तह निर्वाचनमा भरतपुर महानगरपालिकामा भुइँकटहर चुनाव चिह्न लिएर गठबन्धनको विपक्षमा उभिएको थियो। चितवनका तीनवटा संघीय निर्वाचन क्षेत्र र प्रदेशसभा सदस्यका ६ वटा क्षेत्रमा उम्मेदवारी दिने अडानमा विद्रोही कांग्रेस छ।

गत स्थानीय तह निर्वाचनमा कांग्रेस विद्रोही (असन्तुष्ट) समूहबाट भरतपुर महानगरपालिकामा मेयर उम्मेदवार बनेका पूर्वसांसद जगन्नाथ पौडेलले जनमत बढेकाले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा गठबन्धनविरुद्ध उम्मेदवारी दिने बताए।

‘चितवन निर्वाचन क्षेत्र नम्बर ३ हाम्रो आकर्षणको केन्द्र बन्ने छ, केही रणनीतिक कुरा सकिएपछि उम्मेदवारी घोषणा गर्ने छौं’, उनले भने, ‘गठबन्धनले आघात पुर्‍याएको छ, हामी रेस्क्यु गर्ने छौं।’ कांग्रेसले माओवादीसँग गठबन्धन गरी रेणु दाहाललाई भरतपुर महानगरपालिकाको उम्मेदवारमा समर्थन गरेपछि विद्रोह गरेर मेयरमा उम्मेदवार बनेका पौडेलले १४ हजार ७ सय २८ मत ल्याएका थिए।

‘त्यो बेला १० दिन मात्रै प्रचारमा जानुपर्ने बाध्यता थियो, आधा मत बदर भयो’, उनले भने, ‘त्यो बेला भुइँकटहरमा भोट नहालेका मतदातासहितका धेरै कांग्रेस कार्यकर्ता प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा हाम्रो पक्षमा उभिन्छन्।’

पौडेलले गठबन्धनका नाममा केन्द्रीय नेतृत्वले पटकपटक चितवन कांग्रेसलाई दमन गरेको आरोप लगाए। कांग्रेसलाई बलियो बनाउन देशव्यापी विद्रोहको स्वर उठ्न थालेको पनि उनले बताए। ‘कांग्रेसभित्र चितवनले विद्रोहको नेतृत्व गर्नुपर्छ, चितवन सबैभन्दा बढी दमनमा परेको छ’, उनले भने, ‘अन्य जिल्लामा समेत विद्रोह भएका छन्। नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्