Logo

प्रचण्डलाई भाग दिन एमाले ठिक्क परेर बसेको छैनः खगराज अधिकारी



काठमाडौं, २७ भदौ । नेकपा एमालेका नेता खगराज अधिकारीले सत्ता गठबन्धनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणामाथि पारित गर्ने हिसाबले महाभियोग नल्याएको दाबी गरेका छन् । “गठबन्धन दलहरुले महाभियोगलाई ६ महिनासम्म सुषुप्त राखे । संवैधानिक निकायलाई प्यारालाइज गर्न डेमोक्लसको तरबार झुन्डाएर कामु प्रधानन्यायाधीशबाट आफ्नो मुराद पूरा गरे । उनीहरुको एकमात्र उद्देश्य अदालतलाई आक्रमण गर्नु थियो । महाभियोग पारित गर्न ल्याएकै देखिएन,” नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै अधिकारीले भने ।
प्रधानन्यायाधीश राणालाई जोगाउन एमाले नलागेको पनि उनको दाबी छ । अधिकारीले भने, “एमालेले उहाँलाई किन जोगाउने ? परमादेशका नाममा हाम्रोे सरकार अपदस्त गरेको होइन ?सम्माननीय राष्ट्रपतिले शेरबहादुर देउवालाई सपथ खुवाउनै हुन्नथ्यो । परमादेश गरेबापत वकिल, न्यायाधीशलाई तक्मा दिएको होइन ? संविधान मिचेको, लुटेकोमा कुनै लोकलज्जा छ र ?” आफूहरुले परमादेश गर्ने न्यायाधीशलाई प्रतिशोध साँध्ने कच्चा खेल नखेलेको पनि बताए ।
१ असोजमा प्रतिनिधिसभाको कार्यकाल सकिने भएकाले महाभियोग टुंगो नलाग्ने पनि उनको स्पष्टोक्ति छ । अधिकारीले थपे, “महाभियोग प्रतिनिधिसभाको बिजिनेस हो । राष्ट्रिय सभाले महाभियोग किनारा लगाउन सक्दैन । असोज १ गते प्रतिनिधिसभाको कार्यकाल सकिन्छ । कुनै वरिष्ठ अधिवक्तालाई गफ गर्न मन लागेर महाभियोग रहिरहन्छ ?”
कांग्रेससँग कुरा मिलेन भने माओवादी केन्द्रसँग गठबन्धन गर्नुहुन्छ भन्ने पत्रकार धमलाको प्रश्नमा अधिकारीले भने, “नेपालमा एमालेबाहेक को कम्युनिस्ट छ ? सीपी मैनाली, विप्लव, मोहन वैद्यसँग कुरा गरौंला । तर माधव, प्रचण्ड नेपाली कांग्रेसका शाखा हुन् । कांग्रेसले बुझे हुन्छ, एमाले प्रचण्डलाई भाग दिन ठिक्क परेको पार्टी होइन । हामीले ५ वर्षलाई घाँडो किन बोक्ने ?” लोकतान्त्रिक समाजवादीको गतिविधि विश्वसनीय नभएको आरोप पनि उनले लगाए ।



प्रतिक्रिया दिनुहोस्