Logo

भोजपुर कांग्रेसलाई भारी बोक्न मात्र लगाईंदै बोक्लान् त कार्यकर्ताले भारी ?



काठमाडौं । नेपाली कांग्रेसको केन्द्रबाट भोजपुर कांग्रेसलाई भारी बोक्न मात्र लगाईंदै आएको छ । झन्डै एमालेकै हाराहारीमा मत रहेको भोजपुर कांग्रेस कहिले कुन पार्टीको त कहिले कुन पार्टीको भारी बोक्न मात्र बाध्य छ । कांग्रेसको जनधार राम्रो भएको प्रदेशसभा क्षेत्र नम्बर (क)मा अघिल्लो पटक जसपालाई बोकेको कांग्रेसले यसपटक नेकपा एकीकृत समाजवादी (एस)को भारी बोक्नु पर्ने सम्भावना रहेको छ ।

भोजपुरमा २ हजार मत पनि नभएको समाजवादीलाई कांग्रेसले बोक्ला त भन्ने चर्चा सुरु भएको छ । प्रदेश एकको नाम समेत राख्न नसकेर जनतामाझ आलोचित प्रदेश एकका मुख्यमन्त्री राजेन्द्र राईलाई बोक्न कांग्रेसका कार्यकर्ता इच्छुक छैनन् । षडानन्द नगरपालिकामा गठबन्धनलाई धोका दिँदै एमालेका सुरेन्द्र उदासलाई जिताउन भूमिका खेलेका राजेन्द्रलाई किन भोट हाल्ने भन्ने कांग्रेसका आम कार्यकर्ताको प्रश्न छ । उनकै चलखेलका कारण षडानन्द नगरपालिकामा कांग्रेसबाट मेयरको उम्मेदवार बनेका वीरबल राईले चुनाव हारेको भन्दै कांग्रेसका कार्यकर्ताले असनतुष्टि जनाउँदै आएका छन् ।

यसपटकको स्थानीय चुनावमा जम्मा १९४५ मत मात्र ल्याएको समाजवादीलाई २३ हजार ५ सय ९१ मत ल्याएको कांग्रेसले किन बोक्ने भन्दै प्रदेश (क)मा कांग्रेस कै उम्मेदवार उठाउनु पर्ने आम कार्यकर्ताको माग रहेको कांग्रेसका स्थानीय नेताहरू बताउँछन् ।

कांग्रेसका नेता कार्यकर्ताहरुले तुलनात्मक रुपमा कांग्रेस कमजोर रहेको प्रदेश (ख) लिएर आफू बलियो रहेको प्रदेश (क) छाड्न नहुनेमा जोड दिँदै आएका छन् ।
प्रदेश (क)मा कांग्रेसका प्रभावशाली युवा नेता उत्तम चापागाईं, हेमन्त मुकारूङ, गजेन्द्र बहादुर कार्की र बाबुराम नाम सिफारिस भएको छ । त्यसैले प्रदेश (क) मा कांग्रेसले जित्ने बलियो सम्भावना रहेको चर्चा छ ।

राप्रपाबाट आएका बाबुराम बस्नेतभन्दा उत्तम चापागाईं, हेमन्त मुकारूङ, गजेन्द्र बहादुर कार्कीलाई उम्मेदवार बनाउनु पर्ने आम कांग्रेसीको माग छ । राप्रपाबाट आएकाहरू कांग्रेसको राजनीतिमा हाबी हुन खोज्नु गलत भएको उनीहरूको भनाइ छ । अब भोजपुर कांग्रेस सधै अरुको भारी बोकेर हिँड्न नसक्ने आम नेता कार्यकर्ताहरुले पार्टी केन्द्रलाई सन्देश पठाउन थालेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot