Logo

सहमति हुन नसकेका सिटमा गठबन्धन दलहरूले स्वस्थ प्रतिस्पर्धा गर्लान् ?



काठमाडौं, २८ भदौ । राष्ट्रिय जनमोर्चाका नेता एवं सत्ता गठबन्धनको कार्यदलका सदस्य आनन्द शर्माले शुक्रबारसम्म सिट बाँडफाँट जसरी पनि सक्नुपर्ने बाध्यता रहेको बताएका छन् । “हिजो दिनभरि पनि हामी छलफलमा जुट्यौं तैपनि ठोस निष्कर्षमा पुग्न सम्भव भएन । घरीघरी मिल्यो मिल्यो जस्तो हुन्छ तर टुंगो लाग्न सकेको छैन । आज पनि दिउँसो तीन बजे शीर्ष नेताहरु र कार्यदलको बैठक छ । द्विपक्षीय छलफल पनि चलिरहेका छन् । आज संघको टुंगो लाग्छ होला । शुक्रबारसम्म प्रयास जारी रहन्छ,” नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै शर्माले भने ।
दलहरुबीच अन्य प्रकारका कटुता वा राजनीतिक मतभेदभन्दा पनि निर्वाचन क्षेत्रमा दाबी अलि बढी भएकाले त्यसकारण सिट बाँडफाँट नमिलेको उनले औंल्याए । शर्माले भने, “कहाँ कहाँ कसको स्थिति के छ, सबैलाई थाहा भएको कुरा हो । तर निर्वाचन क्षेत्रभन्दा बढी दाबी परेको छैन । कांग्रेस पनि घट्न तयार छ । माओवादी पनि घट्नुपर्छ । १६५ भित्र सबै दल आउनुपर्छ ।” उनले राजमोले दाबी गरेका क्षेत्रमा भने विमति नरहेको बताए ।
अन्तिम सहमति हुन नसके केही क्षेत्रमा मैत्रीपूर्ण प्रतिस्पर्धा गर्न सकिने विकल्प खुला रहेको शर्माले बताए । उनले भने, “समानुपातिकको बन्दसूची बुझाउनु अगावै तालमेलको विकल्प छैन । आधाभन्दा बढीजसो क्षेत्रमा सहमति भइसकेको छ । ३०-४० सिटमा समस्या देखिन्छ । कतै कतै दुइटा, तीनवटा दलको दाबी छ । खास खास ठाउँमा सहमति नभए ती पनि भत्किन सक्छन् । त्यसैले कतिपय क्षेत्रमा एक्लै जित्छु भन्ने कुनै दलको आत्मविश्वास छ भने स्वस्थ र मैत्रीपूर्ण प्रतिस्पर्धा गरे पनि हुन्छ ।”



प्रतिक्रिया दिनुहोस्

Screenshot