Logo

यसकारण घरीघरी नेपाल भ्रमणमा आउँछ चिनियाँ टोली



काठमाडौं, २८ भदौ । हिजो चिनियाँ जनकंग्रेसका अध्यक्ष ली झान्सु र सभामुख अग्नि सापकोटाबीच ६ बुँदे सहमतिपत्रमा हस्ताक्षर भयो । कूटनीतिक वृत्तमा आशंका पनि जन्मियो, के चीनले परराष्ट्र मन्त्रालयलाई बाइपास गरेको हो ? कूटनीतिज्ञ हिरण्यलाल श्रेष्ठ भने यसलाई अस्वाभाविक मान्दैनन् ।
“चीनसँग नेपालका पार्टी–पार्टी, सभामुख–सभामुख, सेना–सेनाबीचको सम्बन्ध छ । चीनको सभामुख आउँदा सभामुखसँग नै हस्ताक्षर हुने हो । विदेशमन्त्री आउँदा विदेशमन्त्री स्तरमा हुन्छ । राष्ट्रपति आउँदा राष्ट्रपति स्तरमै हस्ताक्षर हुन्छ । यो अस्वाभाविक होइन,” नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै श्रेष्ठले भने ।
परराष्ट्रमन्त्री डा. नारायण खड्काबाट चीन भ्रमणबाट आश्वस्त हुन नसकेपछि चिनियाँ टोली घरीघरी नेपाल भ्रमणमा आइरहेको टिप्पणी उनले गरे । श्रेष्ठले थपे, “चीनले नेपाली एक चीन नीतिविरुद्ध नजानुपर्ने ग्यारेन्टी खोजेको छ । एमसीसी, नागरिकता विधेयक पास गर्ने नेपालको संसद् चर्को रहेछ भन्ने उसलाई परेको छ । नेपालमा चीनविरोधी गतिविधि भइरहेका छन् । बोर्डरमा दलाई लामाको फोटो राख्ने, आईएनजीओहरु गएर अनधिकृत गतिविधि गर्ने गरेकाले पनि झस्किएको हुन सक्छ ।”
चिनियाँ प्रमण्डल कम्युनिस्ट पार्टीहरुलाई मिलाउन आएको हो कि भन्ने पत्रकार धमलाको प्रश्नमा उनले भने, “कम्युनिस्ट पार्टी भएकाले कम्युनिस्टलाई मिलाउन खोज्छ नै । नेपाली कांग्रेसले पनि भारतीय जनता पार्टीसँग राखी कूटनीति गरेकै छ । कांग्रेसलाई मिलाउन भारत र अमेरिका लाग्दैनन् र ? नेपालमा कम्युनिस्टहरुको दुई तिहाइ मत छ । गठबन्धनबाट पनि जित्छन्, अरुबाट पनि जित्छन् । घुमिफिरी दुई तिहाइ उनीहरुकै आउँछ । चीनले मिलाउनै पर्दैन ।”
तातोपानी लगायतका नाका तत्काल खोल्नुपर्ने पनि उनले बताए । श्रेष्ठले थपे, “चीनले हामीलाई दुःख दिएको होइन हामी आफैंले दुःख निम्त्याएका हौं । हाम्रा कर्मचारी पैसा दियो भने जे पनि गर्छन् । स्वास्थ्य प्रोटोकल कडाइका साथ पालना गर्दैनन् । दसैंको मुखमा नाका पूर्णरुपमा खोल्नुपर्छ । नाकामा रहेको सबै सामान पठाउनुपर्छ ।”



प्रतिक्रिया दिनुहोस्

Screenshot