Logo

कमल थापालाई ऋषि धमलाको प्रश्न -केपी ओलीप्रति तपाईँको यति मोह जाग्नुको कारण के हो ? (भिडिओसहित)



काठमाडौं, २८ भदौ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले आगामी मंसिर ४ मा हुने निर्वाचनको लागि सहकार्यको लागि एमालेसँग प्रारम्भिक कुराकानी भैरहेको स्पष्ट पारेका छन् । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

कुराकानीको सुरुवातमै पत्रकार धमलाले अध्यक्ष थापालाई ‘केपी ओलीप्रति तपाईँको यति मोह जाग्नुको कारण के हो ?’ भनेर सोधेका थिए । जवाफमा थापाले हाँस्दै जवाफ फर्काए–‘बास्तवमा अहिले चुनावको प्रारम्भिक तयारीमात्रै भैराखेको छ । एमालेसँग हाम्रो प्रारम्भिक कुरामात्रै भएको छ । टुँगो लागिसकेको छैन् । बास्तवमा मैले, एमाले वा केपी ओलीको जुन चर्चा बेला बेलामा गर्ने गरेको छु, यो केबल व्यक्तिगत सम्बन्धको कुरामात्रै होइन । यसलाई हामीले मुलुकको समग्र परिस्थितिसँग दाँजेर हेर्नुपर्दछ । अहिले नेपालको सबैभन्दा ठूलो समस्या भनेको राष्ट्रियताको समस्या हो, र विदेशीहरुको जुन किसिमको चलखेल र प्रभाव तिव्र रुपले बढेर गएको छ, यो अवस्थामा सबै राष्ट्रवादी शक्तिहरु एक ठाउँमा उभिनुपर्छ भन्ने हाम्रो मान्यता हो । त्यही मान्यताअनुसार मैले केपी ओलीको चर्चा गरेको हुँ ।’

धमलाले थापासमक्ष अर्को प्रश्न तेर्साए,‘तपाईँले केपी ओलीको सार्वजनिक कार्यक्रममा धेरै नै प्रशंसा गर्नुभएको छ, यसले गर्दा कतिपयले कमल थापा राप्रपाको अध्यक्ष हो कि एमालेको नेता हो ? भनेर पनि प्रश्न गर्न थालेका छन् नि ?’ जवाफमा थापाले भने–‘मैले त त्यस्तो सुनेको छैन् ।’ उनले एमाले र आफूहरुको बीचमा सैद्धान्तिक र वैचारिक मतभेद रहेको सुनाए । थापाले नेपालको राष्ट्रिय राजनीतिमा कांग्रेस र कम्युनिष्टको विकल्पमा एउटा बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति निर्माण गर्न आफू लागिपरेको पनि सुनाए । राप्रपा नेपालले अन्य दलभन्दा फरक विचार, अलग पहिचान र वैकल्पिक मार्गचित्र बोकेर हिँडेको सुनाए । उनले पार्टीले बोकेको सिद्धान्त सही रहेको सुनाए ।



प्रतिक्रिया दिनुहोस्