Logo

सिट बाँडफाँटका लागि तथ्यांक मात्र हेरेर पुग्दैन, राजनीतिक भूमिकाको पनि मूल्यांकन गर्नुपर्छः झलनाथ खनाल



काठमाडौं, २९ भदौ । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले सत्तारुढ गठबन्धनमा ३० प्रतिशत सिटमा मात्र सहमति हुन बाँकी रहेको बताएका छन् ।

“पाँच दलीय गठबन्धन भन्ने गरे पनि खासमा कार्यगत एकता हो । आम निर्वाचनको कसरी तयारी गर्ने भन्ने बीचमा हरेक दिनको छलफलमा प्रगति छ । द्विपक्षीय, त्रिपक्षीय र सर्वपक्षीय छलफलले सबैको चाहना र आकांक्षा सम्बोधन हुने गरी काम हुन्छ । ७० प्रतिशतभन्दा बढी सिटमा सहमति भइसकेको छ, बाँकी ३० प्रतिशतमा छलफल जारी छ । यसले केही दिनमा आकार लिन्छ,” प्राइम एचडी टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमका लागि पत्रकार ऋषि धमलासँग हिजो राति कुरा गर्दै नेता खनालले भने ।
नेता खनालले पाँच दलीय गठबन्धनमा भएको प्रगतिको खाका भने दिएनन् । उनले भने, “सहमतिको आंकडा अहिले भनिहाल्न मिल्दैन । भनिहाल्ने अवस्थामा पुगेका पनि छैनौं । नीतिगत र व्यावहारिक रुपले अगाडि बढेको छ । ठूला-साना सबै दललाई सहमति चाहिएको छ । माग त बढी नै छ । ठूला पार्टीलाई बहुमत पाए हुन्थ्यो, ठूलो बन्न पाए हुन्थ्यो भन्ने लागिरहेको हुन सक्छ । असोज २ गतेभित्र समानुपातिकको बन्दसूची बुझाउनुपर्ने भएकाले छलफल केही दिन रोकिन्छ । तर सहमति हुँदैन कि भन्ने मलाई लाग्दैन ।”

गठबन्धन भनिसकेपछि सबै दलको हैसियतको सम्मान गर्नुपर्ने पनि खनालले औंल्याए । उनले भने, “हामी १६५ मा तालमेल गर्छौं । तर सिट बाँडफाँटका लागि चुनावको तथ्यांक मात्र हेरेर पुग्दैन । राजनीतिक भूमिकाको पनि मूल्यांकन गर्नुपर्छ ।”
एकीकृत समाजवादीलाई शून्य पुर्‍याइदिन्छु भन्ने केपी शर्मा ओलीको अभिव्यक्ति मुंगरीलालको सपनाजस्तो भएको टिप्पणी पनि उनले गरे । खनालले भने, “एउटा चिनियाँ कथा छ, मुंगरीलालको सपना । उसका पागल-प्रलापले सबै आजित हुन्छन् । नेपालका मुंगरीलालहरुले सबै समाप्त भएको र आफू शक्तिशाली भएको सपना देख्न सक्छन् । उनले चुनावपछि राष्ट्रपति बन्ने सपना नदेखेको पनि बताए । उनले भने, “म मुंगरीलालको जस्तो सपना देख्दिनँ ।”
उनले चीनको दबाबमा एमालेसँग एकता नहुने पनि ठोकुवा गरे । उनले भने, “एकता भनेको विचारका आधारमा हुने हो, गाला जोडेर, चुम्मा खाएर मात्र हुँदैन । हामी जुटे पनि आफ्नै कारण जुट्ने हो, फुटे पनि आफ्नै कारण फुट्ने हो ।”



प्रतिक्रिया दिनुहोस्