काठमाडौं, ३० भदौ । नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले प्रतिनिधिसभाको कार्यकाल सकिए पनि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणामाथिको महाभियोग निरन्तर रहने बताएका छन् । “संसद् भनेको अविच्छिन्न उत्तराधिकारवाला संस्था हो । अहिलेको संसद्को कार्यकाल सकिए पनि केही समयपछि अर्को संसद् आउँछ । महाभियोग भनेको सामान्य अभियोग होइन । यो नटुंगिएसम्म कसरी फिर्ता हुन्छ ? केही पनि नभएजस्तो गर्न मिल्दैन । उहाँ ससम्मान अदालत फर्कन उहाँलाई क्लिन चिट् चाहिन्छ । त्यो कसले दिन्छ ? अहिले टुंगो लागेन भन्ने कि प्रक्रियामा गएन भन्ने ?” नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै घिमिरेले भने ।
महाभियोग सिफारिस समितिले कुरै नबुझी सर्वोच्च अदालतका न्यायाधीशलाई पत्र काटेको आरोप पनि घिमिरेले लगाए । उनले भने, “महाभियोग समितिमा उपस्थित नहुने फुलकोर्टको निर्णय सही छ । कुनै पनि न्यायाधीशले महाभियोग लागेबाहेकको स्थितिमा वकपत्र गर्न र साक्षी बस्न मिल्दैन । महाभियोग समितिले कुरा नबुझीकन पत्र काटेको हो । अन्य निकायका व्यक्तिलाई अख्तियारले बोलाएजस्तो होइन । शक्ति पृथकीकरणको सिद्धान्त अनुसार उहाँहरु जान मिल्दैन । न्यायालयको सर्वोच्चता छ । यो त संसद्ले बनाएको कानुन समेत कस्तो छ भनेर जाँच्ने निकाय हो ।”
नेपाल बारका पूर्व पदाधिकारी भने समितिमा बयानका लागि जाने उनले बताए । प्रधानन्यायाधीश राणाले प्रमाणबिना जथाभाबी बोल्नु कुण्ठाको अभिव्यक्ति भएको पनि उनको तर्क छ ।