Logo

स्वास्थ्यमन्त्रीलाई धमलाको प्रश्न- डेंगु नियन्त्रणमा सरकार किन असफल ?



काठमाडौं, ३० भदौ । स्वास्थ्यमन्त्री भवानी खापुङले डेंगु नियन्त्रणका लागि विभिन्न प्रयत्न जारी रहेको बताएका छन् । “डेंगुबाट १० वटा जिल्ला प्रभावित छन् । अहिलेसम्म ११ जनाको मृत्यु भएको छ, ११ हजार संक्रमित छन् । मन्त्रालयको इपिडिमियोलोजी महाशाखाका तर्फबाट सात प्रदेशका ६० जिल्ला र १३९ स्थानीय तहमा खोज र नष्ट गर अभियान चलाइएको छ,” नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै मन्त्री खापुङले भने ।
झरी परिरहेकाले डेंगु कहिले नियन्त्रणमा आउँछ भन्ने यकिन नभएको पनि उनले बताए । खापुङले भने, “ठ्याक्कै यति दिनमा डेंगु नियन्त्रण आउँछ म भन्न सक्दिनँ । तर चुप लागेर बसेको छैन । मच्छडको लाभा र प्युपा नष्ट गर्ने अभियान चलाएका छौं । झरी पर्दा पानी जम्ने, मच्छडले फूल पार्ने र संख्या वृद्धि हुने भएकाले अझै एक महिना डेंगु नियन्त्रणमा कठिनाइ छ । मन्त्रालयले घर, विद्यालय र होटलमा खोज र नष्ट गर अभियान सञ्चालन गर्न आवश्यक बजेट निकासा गरिसकेको छ ।”
उनले सर्वसाधारणलाई सकेसम्म सरकारी स्वास्थ्य निकायबाट उपचार सेवा लिन पनि आह्वान गरे । मन्त्री खापुङले भने, “निजी अस्पतालको सेवा महँगो भएको भन्नु भन्दा पनि सकेसम्म सरकारी संस्थाबाटै उपचार लिनुपर्छ । सरकारी संस्थाले ९७ प्रकारका औषधी निःशुल्क उपलब्ध गराउँदै आएका छन् । निजी संस्थाले पनि १० प्रतिशतका निम्ति निःशुल्क उपचार गर्नुपर्छ ।”



प्रतिक्रिया दिनुहोस्