काठमाडौं, ३० भदौ । रेशम चौधरीले सरकारले आफ्नो मुद्दा फिर्ता लिएको बताएका छन् । चौधरीको रिहाईको लागि तत्कालिन जसपाले पनि माग गर्दै आएको थियो । यसअघि सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ को पार्टी नेकपाले आफुसँग सरकारले गरेको तीन बुँदे सहमति कार्यान्वयन भएको जनाएको थियो ।
नेकपाले आज (बिहीबार) एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री वालकृष्ण खाण, कानुनमन्त्री गोबिन्द शर्मा र महान्यायधिवत्ता खम्मबहादुर खातीलगायत वार्ता प्रकृयामा सहभागी सबैलाई धन्यवाद ज्ञापन गर्दै सरकारको निर्णयको स्वागत गरेको थियो ।
यता, जेलमा रहेका चौधरीले पनि सरकारले आफ्नो मुद्दा फिर्ता लिएको स्पष्ट पारे । आगामी निर्वाचनमा चौधरीले बर्दिया–२ बाट उम्मेदवारी दिने तयारी गरेको पनि चर्चा छ । नागरिक उन्मुक्ति पार्टीले चौधरीलाई सर्वसम्मत रूपमा उम्मेदवार सिफारिस गरेको छ ।
संविधान बन्नुअघि ‘नागरिकता र एक मधेश एक प्रदेश’ लगायत माग राख्दै भएको आन्दोलनमा हिंसा भड्किएपछि कैलालीको टिकापुरमा सात सुरक्षाकर्मी र एक नाबालक मारिएका थिए। त्यही घटनामा चौधरी लगायत जसपाका केही कार्यकर्ता जेलमा छन्।
०७४ को निर्वाचनमा जेलबाटै चुनाव लडेका चौधरी भारी मतले विजयी भएका थिए । तत्कालिन सभामुख कृष्णबहादुर महराले थुनामा रहेकै अवस्थामा सांसदको शपथ चौधरीलाई सपथ खुवाएका थिए । पछि अदालतले उनलाई दोषी ठहर गर्यो र अहिले उनी सांसद पदबाट निलम्बित छन्।
file photo