काठमाडौं, ३१ भदौ । नेकपा (एमाले) ले संविधान दिवसलाई राष्ट्रिय दिवसका रूपमा मनाउन भोलि असोज १ गते उपत्यकामा वाकथन (पदयात्रा) कार्यक्रम आयोजना गरेको छ । पदयात्राको नेतृत्व पूर्व प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले गर्ने एमालेले जनाएको छ ।
उपत्यकाका विभिन्न पाँच ठाउँ नयाँ बानेश्वर, मैतिदेवी, लैनचौर, कालिमाटी र ललितपुरको कुपण्डोलबाट विहान ७ बजे हजारौं मानिसहरूको सहभागितामा पदयात्रा शुरू हुने जनाईएको छ । सबैतिरका पदयात्रा शहीदगेटमा मिसिई वसन्तपुर पुगेर विसर्जन गर्ने कार्यक्रम तय गरिएको छ ।
अध्यक्ष ओलीले नयाँ बानेश्वरबाट शुरू हुने पदयात्राको नेतृत्व गर्ने जनाईएको छ । त्यस्तै, महासचिव शंकर पोखरेल बानेश्वरबाट शुरू हुने पदयात्रामा सहभागी हुने र पाँचै ठाउँका पदयात्रामा पार्टीका पदाधिकारी तथा केन्द्रीय नेताहरूले नेतृत्व गर्ने जनाईएको छ ।
लैनचौरबाट शुरू हुने पदयात्राको नेतृत्व बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गर्नेछन भने मैतीदेवीमा उपाध्यक्षद्वय रामबहादुर थापा ‘बादल’ र सुवास नेम्वाङ, कुपन्डोलबाट उपाध्यक्ष विष्णुप्रसाद पौडेल र कालिमाटीबाट शुरू हुने पदयात्राको नेतृत्व उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले गर्ने जनाईएको छ। अन्य नेताहरू, सांसदहरू पाँचवटा प्वाइन्टमध्ये आफूलाई पायक पर्ने ठाउँमा सहभागी हुने एमालेले जनाएको छ ।
सबै टोली शहीद गेट पुगेपछि अध्यक्ष ओलीको नेतृत्वमा पदयात्रा बसन्तपुरतर्फ प्रस्थान गर्ने गरी कार्यक्रम तय गरिएको स्थायी कमिटीका सदस्य जनसंगठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकालले बताए ।
पदयात्रा टोली वसन्तपुरमा पुगेपछि अध्यक्ष ओलीले संक्षिप्त सम्बोधन गरेपछि कार्यक्रम समापन गरिनेछ । संविधान दिवस साझा राष्ट्रिय दिवस भएकाले यस कार्यक्रममा पार्टीको झण्डा, व्यानर बोकिने छैन । पदयात्रामा समाजका विभिन्न क्षेत्रका लब्ध प्रतिष्ठित व्यक्तिहरू, पेशा, व्यवसायमा संलग्न आम जनसमुदायको सहभागिता हुने एमालेको विश्वास छ ।