काठमाडौं, ३१ भाद्र । नेकपा एकीकृत समाजवादी पार्टीले २०७४ मा प्रत्यक्षतर्फ चुनाव जितेका दुई या तीनबाहेक कुनैपनि क्षेत्र नछाड्ने अडान लिएको छ । सत्ता गठबन्धनमा सिट बाँडफाँट हुँदा नेकपा एसले बहालवाला सांसद रहेको क्षेत्र र केही महत्वपूर्ण क्षेत्रमा दाबी नछाड्ने गरी अडान लिएको हो ।
नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले कुन कुन क्षेत्र सुरक्षित हो भन्ने निश्चित गरिसकेको बुझिएको छ । यसैका आधारमा उनले सिटमा अडान कसेका छन् ।
माधव नेपालले आफूले जितेको काठमाडौं क्षेत्र नं २ र रौतहट क्षेत्र नं १ नछाड्ने अडान लिएका छन् । रौतहट १ मा माधव नेपाल उठ्ने भए काठमाडौं २ छाड्नुपर्ने शर्त काँग्रेसको रहेको बुझिएको छ ।
यसैगरी, उपत्यकाभित्रका ललितपुर २ र काठमाडौं ८ पनि माधव नेपालले कुनै हालतमा नछाड्ने अडान लिएका छन् । दुवै क्षेत्रमा नेकपा एसका बहालवाला सांसद छन् ।
तनहुँ १ मा रामचन्द्र पौडेल उम्मेदवार बनेमा किसान श्रेष्ठलाई बारामा उम्मेदवार बनाउने तयारी समेत भएको छ ।
माधव नेपालले नछाड्ने अडान लिएका क्षेत्रहरु
काठमाडौं २ र ८
तनहुँ १
ललितपुर २
इलाम १
डोटी १
दाङ १
मकवानपुर २
तेह्रथुम १
मुगु १
दाङ ३
डोल्पा १
पाल्पा २