Logo

स्वच्छ खानेपानीको अभाव



काठमाडौँ,३१ भदौ । बाँके र बर्दियाका करिब १२ प्रतिशत नागरिकले मात्र पाइप प्रणालीबाट खानेपानी उपभोग गर्ने गरेका छन् । ती जिल्लाका ८८ प्रतिशत नागरिक स्वच्छ खानेपानीको पहुँचभन्दा बाहिर रहेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, नेपालगञ्जका प्रमुख तिलक न्यौपानेले जानकारी दिए ।

उनका अनुसार, दुई जिल्लामा निर्माण हुन लागेका सबै आयोजना सम्पन्न भएमा करिब ९० प्रतिशत नागरिकले पाइप प्रणालीको पानी प्रयोग गर्न पाउनेछन् । अहिले बाँकेमा ८५ प्रतिशत घरधुरीका मानिसले ह्याण्डपम्पको पानी खाने गरेका छन् । १४ हजार एक सय ३० घरधुरीले मात्रै पाइप प्रणालीको पानी खाने गरेका छन् ।

नेपालगञ्जस्थित खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले ती जिल्ला हेर्दै आएको छ । कार्यालयले नागरिकलाई स्वच्छ पानी पु¥याउन सघन खानेपानी आयोजना, सरसफाइ तथा ढल व्यवस्थापन, खानेपानी आयोजना गुणस्तर सुधार तथा अभिवृद्धि कार्यक्रम, खानेपानी आयोजना मर्मत सुधार, जलवायु अनुकूलित खानेपानी आयोजना, तराई–मधेस खानेपानीलगायतका आयोजनामा काम गर्दै आएको छ ।

बाँकेमा २०६३÷६४ सालदेखि निर्माण सुरु भएका करिब आधा दर्जन खानेपानीका योजना अलपत्र परेका छन् । आयोजना सञ्चालन गर्नका लागि न्यून बजेट, पर्याप्त जनशक्तिको अभाव, उपभोक्ता समितिले चासो नदेखाउनुलगायतका कारणले करिब डेढ दशक पहिलेदेखि निर्माण सुरु भएका आयोजना अलपत्र अवस्थामा पुगेको प्रमुख न्यौपानेले बताए ।

विसं २०६३÷६४ देखि निर्माण सुरु भएको नेपालगञ्ज १६ जयसपुरमा रहेको खानेपानी आयोजनाको सुर्खेत रोड विस्तारका क्रममा सडकमा रहेको पाइपलाइन काटिएपछि अलपत्र परेको छ । कोहलपुर–१४ हवल्दारपुर नजिकै रहेको शम्शेरगञ्ज खानेपानी आयोजना, राधापुर खानेपानी योजनालगायतका आयोजना हाल अलपत्र अवस्थामा रहेका छन् । यी आयोजना सञ्चालनका लागि डिभिजन कार्यालयले प्रयास गरिरहेको उनको भनाइ छ ।

अलपत्र योजना सम्पन्न गर्न उपभोक्ता र स्थानीय सरकारले चासो दिएका छैनन् । बनिरहेका योजना सम्पन्न गर्नेतर्फभन्दा पनि लोकप्रियताका लागि योजना थप्दै जाने प्रवृत्ति बढ्दै गएपछि यसले थप समस्या निम्तिएको छ । एउटा आयोजना सम्पन्न भएपश्चात् मात्र अर्को आयोजनाको सुरुआत गर्नसके आयोजना चाँडो सम्पन्न हुने कार्यालयले जनाएको छ । रासस



प्रतिक्रिया दिनुहोस्