काठमाडौं, २ असोज । नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले संसद्ले ‘क्लिन चिट्’ नदिईकन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा सर्वोच्च अदालत फर्कन नमिल्ने जिकिर गरेका छन् ।
“मलाई विश्वास छ, चोलेन्द्रशमशेर जबर्जस्ती सर्वोच्च अदालत आउनुहुन्न । किनभने उहाँसँग निलम्बन फुकुवाको पत्र छैन । संसद्को क्लिन चिट नपाईकन कुन नैतिकताले अदालत प्रवेश गर्ने ? यो हँसीमजाकको विषय होइन, संसद्को क्लिन चिट नपाईकन कुन नैतिकताले अदालत प्रवेश गर्ने ? महाभियोगको प्रक्रिया चलिरहेको छ । उहाँसँग सिफारिस समितिले बयान लियो, सात जना वरिष्ठ अधिवक्ताहरुले स्पष्ट पार्नुभयो । प्रक्रिया चलिरहेको बेला बीचमै उहाँ कसरी आउनुसक्नुहुन्छ ?” नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै अध्यक्ष घिमिरेले भने ।
नेपाल बारले चोलेन्द्रशमशेरलाई सर्वोच्चको गेटमै रोक्ने चेतावनी पनि घिमिरेले दिए । उनले भने, “एक व्यक्तिको स्वार्थका लागि सिंगो न्यायालयलाई थिलथिलो बनाइयो । बारले सदैव सिस्टमका लागि लडेको छ । यो व्यक्तिविरुद्धको आन्दोलन होइन । नेपाल बारले उहाँलाई रोक्छ । पहिलो पनि रोकेको थियो, अहिले पनि रोक्छ । हामी प्रोटेस्ट गर्छौं । आज नेपाल बारको अध्यक्ष नै सर्वोच्चको गेटमा धर्ना बस्छ ।”
नेपाल बार लोकतन्त्र र न्यायपालिकामाथि मजाक गर्न दिने पक्षमा नरहेको पनि उनले बताए । घिमिरेले भने, “प्रधानन्यायाधीश भनेको राज्यको सुरक्षा घेरामा आउने हो । उहाँ केही पनि नभए जस्तो गरेर आउन सक्नुहुन्न । उहाँ व्यक्तिगत रुपमा प्रवेश गर्न सक्नुहुन्छ तर प्रधानन्यायाधीशको हैसियतमा पस्न सकिँदैन । नेपाल बार लोकतन्त्र र न्यायपालिकामाथि मजाक गर्न दिने पक्षमा छैन ।”
तपाईंहरुले त बारलाई नेपाली कांग्रेसको भातृसंस्था बनाउन खोज्नुभयो नि भन्ने पत्रकार धमलाको प्रश्नमा घिमिरेले थपे, “नेपाल बार कांग्रेसको भातृसंस्था होइन । कसैले हुनुपर्छ भनेको पनि छैन । २१ हजार कानुन व्यवसायीको छाता संस्था हो । यसको एकता अक्षुण्ण छ ।”